आन्तरिक उडान र लामो दूरीका गाडी असोज ५ देखि खोल्ने सरकारको निर्णय

yatayat

धनगढी–सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका गाडी असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ देखि खोल्ने निर्णय गरेको हो।  कानुन मन्त्री डा। शिवमाया तुम्वाहाङ्फे अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रस्तावमा आन्तरिक आकाश मार्ग र लामो दूरीको स्थल मार्ग एकै दिन खोल्ने निर्णय मन्त्रिपरिषद्ले लिएको हो।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ बाटै खोलिदिँदा पनि हुने बताएका थिए। तर यातायात मन्त्र नेम्वाङले लामो समयदेखि थन्किएका गाडी मर्मत सम्हारका लागि व्यवसायीहरुले समय मागेको भन्दै ५ गतेदेखि खोल्दा उचित हुने प्रस्ताव गरेका थिए।  चैत ११ देखिको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण आफूहरु थला परिसकेको जनाउँदै यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दूरीमा गाडी चलाउने घोषणा गरेका थिए। यस्तोमा यातायात मन्त्रीसहित सरकारी अधिकारीसँग पनि भएको सम्वादपछि सहमतिको वातावरण बनेको थियो। त्यसक्रममा सरकार यातायात खोल्न तयार भएको थियो।
 

प्रकाशित:
2020/09/15, 7:59
SPA
KN
Priya Gahana Pasal