लामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्‍चालन हुने

५० प्रतिशत भाडा वृद्धि
yatayat

धनगढी–सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहका आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने छ ।
आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने छ ।

लामो दुरीको यातायात सञ्‍चालनका लागि सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने निर्णय गरेको छ । सर्तअनुसार ५० प्रतिशतमात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ पङ्तीको सिटमा १ जनामात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ । संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनले आवश्यक निर्णय गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

प्रकाशित:
2020/09/15, 8:16