जनकपुर आइपुग्यो नेपाली रेल,तिहारपछि सञ्चालनमा आउने

rail

धनुषा–नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुगेको छ । एउटा इन्जिन र चार वटा बोगीसहितको रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले फेसबुकमार्फत जानकारी दिनुभएको छ । 
 नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार दिउँसो जनकपुर आइपुगेको हो, रेलको भव्य स्वागत गर्दै जनकपुरमा हस्तान्तरण गर्ने तयारी छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल नेपाल आइपुगेको हो ।  ६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।  रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

जनकपुरमा रेल आइपुगेपछि अहिले त्यहाँ ठूलो भिड देखिएको छ । फोटो खिच्नेदेखि भिडियो लिनेसम्मको ठूलो उपस्थिति देख्न सकिन्छ । 

प्रकाशित:
2020/09/18, 4:46