अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले भने, 'मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ ।'
खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए । उनले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताए ।
शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उनले सो कुरा बताएका हुन्। अमेरिकाका वरिष्ठ विज्ञानिक र चिकित्सकहरू विगतदेखि नै यस कार्यमा लागिराखेको पनि बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, 'अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकले यो खोप आविश्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन् ।'
त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने जानकारी दिए । उनले अब यो खोपको परीक्षण अन्तिम परीक्षणको क्रममा रहेको र सो परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम गर्ने जानकारी पनि दिए ।