धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत २४ वर्षीया निर्मला पहराईको परिवारले उनको हत्या गरिएको दाबी गरेको छ । फूलबारी सामुदायिक जंगलमा झुन्डिएको अवस्थामा शुक्रबार उनी मृत भेटिएकी थिइन् । उनको आत्महत्या नभई हत्या भएको उनका दाजु विशालले शनिबार पत्रकार सम्मेलनमा दाबी गरे ।
प्रहरीले सोही रेडियोमा कार्यरत पत्रकार ललित जाग्रीलाई अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । निर्मला पाँच वर्षदेखि समाचार बाचिका थिइन् । भदौ ३१ गते बिहान ११ बजे घोडाघोडी नगरपालिका–४ जनकपुरस्थित घरबाट निस्किएकी उनी सम्पर्कविहीन थिइन् ।
असोज १ गते परिवारका सदस्यले प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य सुरु भएको थियो । शुक्रबार नै पहराईको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइए पनि शनिबारसम्म पोस्टमार्टम भएको छैन ।