छ महिनापछि आजबाट आन्तरिक उडान खुल्यो,धनगढीमा बुद्ध एयरले उडान भर्ने 

यात्रुले बिषेश नियम पालना गर्नुपर्ने
Udan suru
सुदूर प्रेस संवाददाता

धनगढी– बन्द भएको छ महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् ।
खासमा सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो । तर कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानको साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका थिए । उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्नेरगराउने तर सबै सिट भरेर उडान गर्न  पाउने माग गरेका थिए ।

वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ । आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमतामै जहाज उड्नेछन् ।

धनगढीमा बुद्ध एयरले उडान भर्ने 

धनगढी बिमानस्थलका प्रमुख  तेजवहादुर बुढथापाले आज काठमाडौं–धनगढी बुद्ध एयरले उडान भर्ने जानकारी दिए।  बुद्ध एयर काठमाडौँबाट १० बजेर ५० मिनेटमा धनगढीका लागि उड्नेछ भने धनगढीबाट १२ बजेर ५० मिनेटमा काठमाडौँ फर्किने छ। श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने विमानस्थल कार्यालयले जनाएको छ।

यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट आफ्नो काउण्टर हटाइसकेको विमानस्थल प्रमुख बुढथापाले बताए। उनका अनुसार केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको छ। केही बर्ष अगाडिसम्म सौर्य एयरलाईन्सले धनगढीका लागि उडान भर्दै आएकोमा पछि बन्द गरेको थियो। 

विमानस्थल, जहाजका कर्मचारी र यात्रुले पालना गर्नुपर्नेछ यी नियम

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।
चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडान सुरु गरेको उनीहरुको दाबी छ ।

अहिले पनि विदेशीहरु नेपालबाट गइरहेको र उद्धार उडानमार्फत नेपाली आइरहेकाले विमानस्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नै भएका छन् । आजदेखि थप कडाइ भएको छ । मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।

७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले आफुमा कोरोना नभएको स्वघोषणासहित सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।

विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बसलाई हरेक पल्ट नि–सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि–सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र बिमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना र खाजा निषेध गरिएको छ । जहाजको शौचालय पनि बन्द हुनेछ । कुकुर र बिरालो बोक्न पाइने छैन । समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।

कति समयअघि विमानस्थल पुग्ने त ? 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग समन्वय गरेर बाह्य उडानतर्फका यात्रु ४ घन्टाअघि र आन्तरिक उडानतर्फका यात्रु दुई घन्टाअघि नै विमानस्थल पुगिसक्नुपर्ने नियम बनाएको थियो । तर सबै यात्रुलाई दुई घन्टाअघि नै विमानस्थल बोलाउनु अव्यवहारिक हुने भन्दै अहिले यात्रुलाई कति समयअघि विमानस्थल पुग्ने भनेर विमान कम्पनीले नै जानकारी दिनुपर्ने जनाएको छ । 

‘हाम्रो उदेश्य भीडभाड नहोस् भन्ने हो, उदाहरणको लागि बिहान ८ बजेअघि अरु उडान छैनन् भने यात्रुलाई किन दुई घन्टा अघि बोलाउने ? यात्रुको चाप नहुँदा ४० मिनेटअघि नै बोलाउँदा हुन्छ । त्यसैले यात्रुको चाप र उडान हेरेर टिकट लिएकाहरुलाई एअरलाइन्सले नै जानकारी दिनुपर्छ भनेका छौँ’ त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले भन्नुभयो । प्रवक्ता कर्णका अनुसार अब कति बजे विमानस्थल पुग्ने भन्ने जानकारी हवाइ कम्पनीले नै दिनेछन् । 

प्रकाशित:
2020/09/21, 8:19