सामाजिक सङ्घ–संस्थाले राज्यको पाँचौँ अङ्गको रूपमा महत्त्वपूर्ण काम गर्नुपर्छ–डा.आरजु 

Dr arju rana deuba

धनगढी– नेपाली काँग्रेसकी नेतृ डा.आरजु  राणा देउवाले पिछडिएका वर्ग समुदाय,जातजातिहरूको जीवनस्तर माथि उकास्ने गरी सामाजिक गतिविधि र कार्यक्रमहरू सञ्चालन गरिनु पर्नेमा जोड दिएकी छिन ।

४१ औँ सामाजिक सेवा दिवसको अवसरमा नगर स्तरीय गैसस समन्वय समिति र धनगढी उप–महानगरपालिकाले मङ्गलवार संयुक्त रूपमा आयोजना गरेको भर्चुअल कार्यक्रममा नेतृ देउवाले सामाजिक सङ्घ–संस्थाले राज्यको पाँचौँ अङ्गको रूपमा महत्त्वपूर्ण काम गर्नु पर्ने बताइन । पुरुषलाई गाली गरेर मात्रै महिलाको समृद्धि हुन नसक्ने बताउँदै उनले भनिन–महिला र पुरुष सँग–सँगै हातेमालो गरेर अघि बढे मात्रै समाज समृद्ध हुन्छ । 

‘समाजसेवीको भूमिका कमाउने तिर भन्दा पनि समाजमा योगदान दिनका लागि हुनुपर्छ डा. देउवाले भनिन– ‘समाजसेवा छिमेकबाट नै गर्न सुरु गर्नुपर्छ ।’ ‘छिमेकीका समस्या कस्ता छन् ? पिडामा छ कि ? साना साना कुराबाट सेवा गर्न सुरु गर्नुपर्छ   त्यसपछि मात्रै समाज भित्र रहेका समस्या, हिंसा विभेद, उत्पीडन न्यूनीकरणका लागि वकालत गर्न सकिन्छ ।’ पूर्वसासद तथा सामाजिक अभियन्ता समेत रहेकी देउवाले आफू ७ कक्षामा पढ्दा देखि नै समाजसेवामा लागेको स्मरण सुनाइन ।  नगर स्तरीय  गैसस समन्वय समितिका संयोजक तथा उप–प्रमुख सुशीला मिश्र भट्टको संयोजकत्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाह, धनगढी उपमहानगरपालिकाका नगर–प्रमुख नृपबहादुर वड  लगायतले भर्चुअल कार्यक्रममा सहभागिता जनाएका थिए । 

 

प्रकाशित:
2020/09/22, 8:53