पहिरोले बस पुरिँदा एक जनाको मृत्यु, ४० घण्टापछि राजमार्ग एकतर्फी खुल्यो

rajmarg

नवलपरासीपूर्व–पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ  भने ७ जना घाइते भएका छन् ।

बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।

माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षीय हरिषचन्द केसीको बिहीबार राति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि शुक्रबार बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दाउन्ने खण्डमा सानाठूला गरी ६ वटा पहिरो खसेको थियो ।

प्रकाशित:
2020/09/25, 7:52