बझाङ — सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । उनका अनुसार बोहराले गत साउन २६ मा खिकालाकै १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको घटनालाई गाउँमै गुपचुप मिलाइएको खुलेको हो । साँझ ५ बजेतिर धनचडी बोहराको पानीघट्टमा अन्न पिस्न पुगेकी बालिकालाई जबर्जस्ती करणी गरेको बारे आइतबार मात्रै जाहेरी आएको डीएसपी खड्काले बताए । ५ कक्षामा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे आफ्नी भाउजूलाई सुनाएकी थिइन् । त्यसपछि परिवारले पञ्चायती बसालेका थिए । पञ्चायतीमा ‘एकै गाउँका भाइबहिनी हुन्, यत्तिको घटना भइहाल्छ’ भन्दै पाँच सय जरिवाना गराएर घटना गाउँमै सामसुम पारेका थिए । दुवै पक्षबीच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेका छन् । मिलापत्रमा ‘गर्भ रहेमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख छ ।
चरेस, मदिराजस्ता नशालु पदार्थ सेवन गर्ने, एक्लै हिँडडुल गर्न रुचाउने बोहरा यसअघि थुप्रै चोरी र लुटपाटका घटनामा संलग्न रहेको स्थानीय बताउँछन् । उनले महिला र बालिकाहरूले लगाएका गहना खोस्ने, घर तथा पसलमा चोरी गर्ने दर्जनौं घटना गाउँमै मिलाइएको खिकालाकै अर्जुन बोहराले बताए । ‘उसको समूहमा एक–दुई जना अरू पनि थिए,’ उनले भने, ‘मान्छे नभएको मौका पारेर सुटुक्क गाउँलेका घरमा पस्ने र चोर्ने गर्न थालेको तीन वर्षजति भयो ।’
सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट
सम्झनाको बलात्कार र हत्या भएको ठाउँ भन्दा ५ सय मिटर पर गत मंसिरमा ११ वर्षका बालक विमल कामी मृत भेटिएका थिए । शव फेला पर्दा उनको एउटा कानको मुन्द्रा थिएन । त्यसबेला गाउँमै रहेका राजेन्द्र बोहरा उक्त घटनालगत्तै भारत गए । फर्केर आएपछि गाउँका बालबालिकालाई तर्साउन थाले । उनीहरूका साथमा हुने पैसा र सामान खोस्दै ‘विमललाई मैले मारेको हुँ, तिमीहरूले पैसा दिएनौ भने मारिदिन्छु’ भन्ने गरेको विमलका बाजे टसी कामी बताउँछन् । उक्त घटनाबारे भने प्रहरीलाई जानकारी नआएको डीएसपी खड्काले बताए । ‘एक जना बच्चा रूखबाट लडेर ढुंगामा ठोक्किएर मृत्यु भएको भन्नेसम्म हामीले थाहा पायौं,’ उनले भने ।
१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै
गाउँमा हुने आपराधिक घटनामा प्रायः बोहराकै संलग्नता भए पनि आफूकहाँ एउटा मात्रै उजुरी आएको वडाध्यक्ष शेरबहादुर खड्काले दाबी गरे । ‘आफ्नै ठूलोबुबाको पसलमा चोरेको घटना वडा कार्यालयसम्म पुगेको थियो । रकम फिर्ता गर्ने सहमतिमा हामीले मिलाएका हौं,’ उनले भने, ‘अरू कुरा त अहिले पो थाहा हुँदै छ ।’ अपराधका घटना गुपचुप गाउँमै मिलाउँदा सम्झनाले ज्यान गुमाउनुपरेको डीएसपी खड्काको भनाइ छ । ‘साउनमा भएको बलात्कार जस्तो जघन्य अपराधको घटना प्रहरीकहाँ पुगेको भए ऊ अहिले जेलमा हुन्थ्यो । सम्झनाको ज्यान जाने थिएन,’ उनले भने, ‘गाउँमै गुपचुप मिलाउँदा उसमा मनोबल बढेको देखिन्छ ।’
यसैबीच, सम्झनाको हत्या र बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर सदरमुकाम चैनपुरमा आइतबार पनि प्रदर्शन गरिएको छ । सयौंको संख्यामा रहेका स्थानीयले जुलुस प्रदर्शनपछि बलात्कारीलाई कडा कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । कान्तिपुर बाट