भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

Corona Update

एजेन्सी–भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो । भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिका आफन्त भावविह्वल अवस्थामा फाइल फोटो स् रोयटर्स

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ४२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एक लाखभन्दा बढी मृत्यु हुने भारत तेस्रो मुलुक बनेको छ । अमेरिकामा कोरोना भाइरसबाट करिब २ लाख ८ हजार जनाको मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ४४ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


त्यस्तै शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ७३ हजार ५ सय ४४ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ८३।७० प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७५ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ५४ लाख २७ हजार ७ सय ६ जना निको भएका छन् भने करिब ९ लाख ४५ हजार संक्रिय केस रहेका छन् ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्९आईसीएमआर०का अनुसार शुक्रबार साँझसम्म ७ करोड ७० लाखभन्दा बढी नमुना परीक्षण गरिएको छ । शुक्रबार मात्रै ११ लाखभन्दा बढी नमुना परीक्षण भएको आईसीएमआरले जनाएको छ । कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शनिबार बिहानसम्म ७३ लाख ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म २ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब २९ लाख निको भएका छन् ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वभर करिब ३ करोड ४५ लाख जनामा कोरोना पुष्टि भएको छ भने १० लाख २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब २ करोड ३९ लाखभन्दा बढी निको भइसकेका छन् ।

प्रकाशित:
2020/10/03, 4:09