आइपिएलः दिल्ली मुम्बईसँग पराजित

ipl
सुदूर प्रेस संवाददाता

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन आवश्यक थियो । पहिलो बलमै कु्रनाल पान्ड्याले स्टोइनिसलाई चौका प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक एक रन बटुल्दा चौथो बलमा क्रुनालले चौका प्रहार गर्दै जित पक्का गराए ।

मुम्बईले पहिलो विकेट पाँचौ ओभरको अन्तिम बलमा गुमाएको थियो । स्पिनर अक्षर पटेलको पाँचौ ओभरको अन्तिम बलमा ठूलो सट खेलेका रोहित ५ रनमा कागिसो रबाडाबाट क्याच आउट हुन पुगेका थिए । रविचन्द्रन आश्विनको दशौं ओभरको पाँचौं बलमा क्विन्टन डी कक पृथ्वी शाबाट ५३ रनमा क्याच आउट भए ।

डी ककले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कागिसो रबाडाको १५ औं ओभरको अन्तिम बलमा सूर्यकुमार यादव श्रेयस ऐरबाट ५३ रनमा क्याच आउट हुन पुगे । यादवले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले १६ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर एलेक्स केरीबाट शून्यमा क्याच आउट गरेपछि दिल्लीको झिनो आशा पलाएको थियो ।

रबाडाले १८ औं ओभरको तेस्रो बलमा इशान किशनलाई अक्षर पटेलबाट २८ रनमा क्याच आउट गराए । किशनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । काइरन पोलार्ड ११ र क्रुनाल पान्ड्या १२ रनमा अविजित रहे । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस, अक्षर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहेका थिए । दिल्लीले अन्तिम २४ बलमा बाउन्ड्रीको रुपमा दुई मात्र चौका प्रहार गरेको थियो । दिल्लीले अन्तिम २४ बलमा एक विकेट गुमाउँदा ३५ रन जोडेको थियो ।

दिल्लीले पहिलो ओभरको तेस्रो बलमै ओपनर पृथ्वी शालाई ४ रनमा गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा शा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । पाँचौं ओभरको दोस्रो बलमा क्रुनाल पान्ड्याले अजिंक्या रहाणेलाई १५ रनमा एलबिडब्लू आउट गरे । रहाणेले १५ बलमा ३ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि कप्तान श्रेयस ऐर र धवनले ८५ रनको साझेदारी गर्दै मुम्बईका बलरलाई दबाबमा राखेका थिए । क्रुनालको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका ऐर बोल्टबाट उत्कृष्ट क्याच आउट हुन पुगेपछि ४२ रनमा पेभिलिएन फर्के । ऐरले ३३ बलमा ५ चौका प्रहार गरे ।

१७ औं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिसले धवनसँग तालमेल गर्न नसक्दा १३ रनमा रन आउट भए । राहुल चहरले रन आउट गर्नुअघि स्टोइनिसले ८ बलमा २ चौका प्रहार गरे । डेब्यु खेल खेलेका विकेटकिपर एलेक्स केरी ९ बलमा १४ रनमा अविजित रहे । क्रुनाल पान्ड्याले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । दिल्लीले अब बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

प्रकाशित:
2020/10/12, 7:36