आईपीएल :चेन्नईको उत्कृष्ट जित

ipl

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ ।

जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो । ड्वेन ब्राभोले अन्तिम ओभरमा १ विकेटका साथ मात्र १ रन दिँदै महत्वपूर्ण दुई अंक पक्का गराए । हैदराबादका मध्यक्रमका ब्याट्सम्यान केन विलियम्सनले ३९ बलमा ७ चौका सहित सर्वाधिक ५७ रन जोडेपनि जितको लागि पर्याप्त रहेन ।

युवा तीव्र गतिका बलर साम करनले चौथो ओभरको तेस्रो बलमा कप्तान डेभिड वार्नरलाई ९ रनमा कट एण्ड बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । चौथो ओभरको अन्तिम बलमा ड्वेन ब्राभोले मनिष पान्डेलाई ४ रनमा उत्कृष्ट रन आउट गराउँदै पेभिलिएन फर्काए । रविन्द्र जडेजाले १० औं ओभरको पाँचौ बलमा जोनी बेयरस्टोलाई २३ रनमा बोल्ड आउट गरेपछि हैदराबाद दबाबमा परेको थियो । बेयरस्टोले २४ बलमा २ चौका प्रहार गरे ।

लेग स्पिनर करण शर्माको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका युवा ब्याट्सम्यान प्रियम गर्ग डिप मिडविकेटमा रविन्द्र जडेजाबाट १६ रनमा क्याच आउट हुन पुगे । गर्गले १८ बलमा १ चौका प्रहार गरे । ड्वेन ब्राभोले १७ औ ओभरको चौथो बलमा विजय शंकरलाई १२ रनमा जडेजाबाट क्याच गराए । करण शर्माको १८ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका विलियम्सन लङ अनमा शार्दुल ठाकुरबाट क्याच आउट हुन पुगेपछि हैदराबादको जितको सम्भावना टाढिएको थियो ।

राशिद खान ८ बलमा १ चौका र १ छक्का सहित १४ रनमा क्याच आउट भएसँगै हैदराबादको झिनो आशा पनि सकिएको थियो । चेन्नईका करण शर्माले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभोले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर, रविन्द्र जडेजा र साम करनले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । चेन्नईले अन्तिम पाँच ओभरमा ५१ रन जोड्दा ४ विकेट गुमाएको थियो । अलराउन्डर रविन्द्र जडेजाले तल्लोक्रममा आक्रामक रुपमा रन जोड्दै १० बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।

चेन्नईले ओपनिङ जोडीमा परिवर्तन गर्दै युवा अलराउन्डर साम करनलाई फाफ डु प्लेसिससँग मैदान उतारेको थियो । सन्दीप शर्माको तेस्रो ओभरको पहिलो बलमा एज लाग्दै विकेटकिपर जोनी बेयरस्टोबाट क्याच हुँदै डु प्लेसिस गोल्डेन डग आउट हुन पुगे ।

त्यसपछि करनले आक्रामक ब्याटिङ गर्दै चेन्नईका ब्याट्सम्यानलाई दबाब महसुस हुन दिएनन् । सन्दीप शर्माले पाँचौ ओभरको चौथो बलमा बोल्ड आउट गर्नुअघि करनले २१ बलमा ३ चौका र २ छक्का सहित ३१ रनको योगदान दिए ।

तेस्रो विकेटका लागि अम्बाती रायुडु र वाटसनले ८१ रनको साझेदारी गर्दै चेन्नईलाई राम्रो योगफलको बाटो देखाए । तर यी दुबै ब्याट्सम्यान एक ओभरको अन्तरमा क्याच आउट हुन पुगे । खलिल अहमदको १६ औं ओभरको दोस्रो फुलटस बलमा छक्काको लागि प्रयास गरेका रायुडु लङअफमा कप्तान डेभिड वार्नरको हातबाट ४१ रनमा समातिन पुगे ।

रायुडुले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । टि नटराजनको १७ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा वाटसन मनिष पान्डेबाट लङअफमै ४२ रनमा क्याच आउट हुन पुगे । वाटसनले ३८ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

टि नटराजनको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका महेन्द्रसिंह धोनी केन विलियम्सनबाट २१ रनमा क्याच आउट भएका थिए । धोनीले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । ड्वने ब्राभोलाई अन्तिम ओभरको पहिलो बलमै खलिलले बोल्ड आउट गरे । दीपक चहर २ रनमा अविजित रहे ।

सन्दीप शर्माले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । यो चेन्नईको आठौं खेलमा तेस्रो जित हो । चेन्नईले अव आफ्नो नवौं खेल दिल्ली क्यापिटल्ससँग शनिबार शारजाहमा खेल्ने छ । हैदराबादले आफ्नो नवौं खेलमा अव आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

अंक तालिका

मुम्बई, दिल्ली र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा रहेको छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा पुगेको छ ।

सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा उक्लिएको छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

प्रकाशित:
2020/10/14, 6:56