आइपिएलः अन्तिम बलमा पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा
ipl

एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुल र क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दोस्रो जित निकालेको छ ।

बिहिबार राती सम्पन्न आइपिएलको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ । जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

पन्जाबलाई जितको लागि अन्तिम ओभरमा दुई रन आवश्यक रहेको थियो । तर स्पिनर युजभेन्द्र चहलले उत्कृष्ट बलिङ गर्दै खेललाई अन्तिम बलसम्म पुर्याएका थिए । अन्तिम बलमा निकोलस पूरनले लङअनमा छक्का प्रहार गर्दै जित पक्का गराए ।

पन्जाबको जितमा कप्तान लोकेश राहुल ४९ बलमा १ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । जारी सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ४५ बलमा १ चौका र ५ छक्का ५३ रनमा रन आउट भए । दोस्रो विकेटका लागि गेल र राहुलले ९३ रनको साझेदारी गर्दै जित पक्का गराए । गेललाई पन्जाबले तेस्रो नम्बरमा ब्याटिङ गराएको थियो । पहिलो खेलमै उत्कृष्ट अर्ध शतक प्रहार गरेका गेलको प्रर्दशनले पन्जाबलाई मध्यक्रममा आगमी खेलमा ठूलो राहत पुग्नेछ ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र राहुलले ८ ओभरमा ७८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अग्रवाललाई स्पिनर युजभेन्द्र चहलले ४५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता हात पारे । अग्रवालले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । बेंगलोरका युजभेन्द्र चहल बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । मोहम्मद शामीले अन्तिम ओभरमा तीन छक्का र एक चौका सहित कुल २४ रन खर्चेका थिए । क्रिस मोरिस ८ बलमा ३ छक्का र १ चौका सहित २५ रनमा अविजित रहे । इसुरु उडाना ५ बलमा १ छक्का सहित १० रनमा अविजित रहेका थिए ।

बेंगलोरले सुरुवात मध्यम गरेको थियो । ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले पाँचौ ओभरको पहिलो बलमा ३८ रनको साझेदारी गरेका थिए । युवा तीव्र गतिका बलर अर्शदीप सिंहले पाडिक्कललाई निकोलस पुरनबाट १८ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । पाडिक्कले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे । सातौं ओभरको तेस्रो बलमा स्पिनर मुरुगन आश्विनले फिन्चलाई २० रनमा बोल्ड आउट गरे । फिन्चले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

११ औं ओभरको तेस्रो बलमा आश्विनले वासिन्टन सुन्दरलाई १३ रनमा क्रिस जोर्डनबाट क्याच आउट गराए । सुन्दरले १४ बलमा १ चौका प्रहार गरे । जोर्डनले १६ औं ओभरको अन्तिम बलमा शिवम दुबेलाई कप्तान लोकेश राहुलबाट २३ रनमा क्याच आउट गराए । दुबेले १९ बलमा २ छक्का प्रहार गरे ।

१८ औं ओभरको तेस्रो बलमा मोहम्मद शामीले आक्रामक ब्याट्सम्यान एवि डिभिलियर्सलाई दीपक हुडाबाट दुई रनमा क्याच आउट गराएपछि बेगलोरको ठूलो योगफलको सम्भावना सकिएको थियो । डी भिलियर्स आउट भएको दुई बल पछि कोहली राहुलबाट ४८ रनमा क्याच आउट भए । कोहलीले ३९ बलमा ३ चौका प्रहार गरे ।

स्पिनर मुरुगन आश्विनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र अर्शदीप सिंहको नाममा समान एक एक विकेट रह्यो । जारी आइपिएलमा यो पन्जाबको दोस्रो जित हो । यसअघि लिग चरणको पहिलो खेलमा पन्जाबले बेंगलोरलाईनै ९७ रनले पराजित गरेको थियो । पन्जाबले अव आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । बेंगलोरको यो तेस्रो हार हो । बेंगलोरले अव शनिवाबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।

प्रकाशित:
2020/10/16, 6:40