आईपीएल : डी भिलियर्स चम्कँदा बेंगलोर विजयी

ipl

एजेन्सी – दक्षिण अफ्रिकी ब्याट्सम्यान डी भिलियर्सले आक्रामक ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्समाथि ७ विकेटको जित हासिल गरेको छ ।

जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको बेंगलोरले ३ विकेट गुमाउँदै अन्तिम ओभरमा पूरा गर्यो । अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आएको थियो । उक्त ओभरमा उनदकटले सुरुवाती तीन बलमा दि भिलियर्सको लगातार ३ छक्का खाएका थिए ।

अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा सुरुवाती ३ बलमा ५ रन जोडेको बेंगलोरका लागि डी भिलियर्सले चौथो बलमा छक्का प्रहार गर्दै जित पक्का गरे । समग्रमा डी भिलियर्सले २२ बलमा नटआउट ५५ रन जोडे । उनले १ चौका र ६ छक्का प्रहार गरेका थिए । उनलाई गुर्किरत सिंहले १७ बलमा १ चौकासहित १९ रन जोड्दै साथ दिए ।

बेंगलोरले इनिङको चौथो ओभरमा नै ओपनर आरोन फिन्चलाई गुमाएको थियो । फिन्च ११ बलमा २ छक्कासहित १४ रन जोड्दै श्रेयस गोपालको बलमा क्याच आउट भए । त्यसपछि कप्तान विराट कोहली र देवदत्त पडिकलले उत्कृष्ट साझेदारी गर्दै बेंगलोरलाई लक्ष्यतर्फ उन्मुख गराए । १३ औं ओभरको अन्तिम बलमा पडिकल ३५ रनमा आउट भएपछि ७९ रनको साझेदारी तोडिएको थियो ।

लगत्तै अर्को बलमा कोहली पनि आउट भए । कोहली ३२ बलमा ४३ रन जोड्दै कार्तिक त्यागीको बलमा आउट भए । उनले १ चौका र २ छक्का प्रहार गरे । दुई बलमा दुई सेट ब्याट्सम्यान आउट भएपछि बेंगलोर समस्यामा परेको थियो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । उनी अन्तिम ओभरमा क्रिस मोरिसको बलमा क्याच आउट भएका थिए ।

राजस्थानलाई ओपनर बेन स्टोक्स र रोबिन उथप्पाले ५.४ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । क्रिस मोरिसको बलमा विकेटकिपर एबि डि भिलियर्सबाट बेन स्टोक्स १५ रनमा समातिन पुगेपछि बेंगलोरले पहिलो सफलता हात पारेको थियो । स्टोक्सले १९ बलमा २ चौका प्रहार गरे ।

स्पिनर युजभेन्द्र चहलले आठौं ओभरमा दुई महत्वपूर्ण विकेट लिदै बेंगलोरलाई खेलमा फर्काएका थिए । आठौं ओभरको चौथो बलमा उथप्पालाई आरोन फिन्चबाट ४१ रनमा क्याच आउट गराए । उथप्पाले २२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा सन्जु स्यामसन ९ रनमा मोरिसबाट क्याच आउट हुन पुगे पछि राम्रो सुरुवात गरेपनी पुनः दबाबमा परेको थियो ।

जोस बटलरले २५ बलमा १ चौका र १ छक्कासहित २४ रनको योगदान दिए । राहुल टेवाटियाले ११ बलमा १ छक्का र १ चौकासहित १९ रन जोड्दै अविजित रहे । जोफ्रा आर्चरले ३ बलमा २ रनमात्र जोडे । राजस्थानका लागि मोरिसले ४ विकेट तत्गा युजवेन्द्र चहलले २ विकेट हात पारे ।

यस जितसँगै बेंगलोर अंक तालिकामा ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा नै रहेको छ । राजस्थान भने ९ खेलमा ६ अंकसहित सातौं स्थानमा नै छ ।

प्रकाशित:
2020/10/17, 8:41