आईपीएलः अंक तालिकामा पुछारमा रहेका चेन्नई र राजस्थान भिड्दै

ipl
सुदूर प्रेस संवाददाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा आज अंक तालिकामा पुछारमा रहेका चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार शेख जायद स्टेडियम आबूधाबीमा ७:४५ पछि सुरु हुनेछ ।

प्ले अफको सम्भावना कायमै राख्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जित सहित पुछारमा छ । दुबै टोली चोथो जितको सोचमा हुने छन् ।

यसअघि लिग चरणको पहिलो खेलमा राजस्थानले चेन्नईलाई १६ रनले पराजित गरेको थियो । राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले ६ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । राजस्थान लिग चरणको जितलाई निरन्तरता दिन चाहान्छ । चेन्नई उक्त हारको पाठ सिक्दै दोस्रो खेलमा जित निकाल्न चाहान्छ ।

पछिल्लो खेलमा चेन्नई दिल्ली क्यापिटल्ससँग ५ विकेटले पराजित भएको थियो । अन्तिम ओभरमा रविन्द्र जडेजाले दिल्लीलाई १७ रन चाहिएको अवस्थामा तीन छक्का खर्चेपछि पराजित हुन पुगेको थियो । अलराउन्डर ड्वने ब्राभो चोटिल हुँदा आजको खेलमा चेन्नई तीव्र गतिका बलर जोश हेजलवुडलाई खेलाउने सम्भावना छ ।

दिल्लीविरुद्ध ५८ रन जोडेका फाफ डु प्लेसिस उच्च लयमा छन् । उनलाई आफ्नो लयलाई निरन्तरता दिन आवश्यक छ । पछिल्लो खेलमा अम्बाती रायुडु र शेन वाटसनले राम्रो प्रर्दशन गर्दै आएका छन् । यी दुई ब्याट्सम्यानको प्रर्दशन मध्यक्रममा निकै महत्त्वपूर्ण हुने छ । दिल्लीविरुद्ध १३ बलमा ४ छक्का सहित ३४ रनमा अविजित रहेका जडेजा चेन्नईका तल्लोक्रमका हतियार हुन् ।

कप्तान महेन्द्रसिंह धोनी प्रर्दशन चेन्नईलाई निकै महत्वपूर्ण हुने छ । दिपक चहर र शार्दुल ठाकुरको प्रर्दशन बलिङमा निकै महत्वपूर्ण हुने छ । जोश हेजलवुडको आगमनले चेन्नईको बलिङ युनिट थप मजबुत बन्ने छ । केदार जादवको स्थानमा स्पिनर पियुष चवलालाई मौका दिन सक्छ । चेन्नईलाई फिल्डिङमा पनि सुधार गर्न आवश्यक देखिन्छ ।

राजस्थान पछिल्लो खेलमा बेंगलोरसँग ७ विकेटले पराजित भएको थियो । उक्त खेलमा रोविन उथप्पाले ४१ र कप्तान स्टिभ स्मिथले ५७ रनको इनिङ खेलेका थिए । यसले यी दुई ब्याट्सम्यानको लय पर्किएको संकेत दिएको छ । जस बटलर, बेन स्टोक्स र सन्जु स्यामसनलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

यी ब्याट्सम्यान चल्न नसक्दा राजस्थानको ब्याटिङ कमजोर रहँदै आएको छ । अलराउन्डर राहुल टेवाटिया चेन्नईलाई टाउको दुखाईको खेलाडी बन्न सक्छन् । जोफ्रा आर्चर र बेन स्टोक्स राजस्थानका प्रमुख हतियार हुन् । बेंगलोरविरुद्ध ४ ओभरमा ४६ रन खर्चेका जयदेव उनादकटको स्थानमा राजस्थानले अंकित राजपूतलाई मौका दिन सक्छ । आइपिएलमा चेन्नई र राजस्थानबीच २२ खेल भएको छ । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ ।

प्रकाशित:
2020/10/19, 6:20