सुदूरपश्चिममा बढ्दै बलात्कार

rape
बझाङमा सम्झना कामी बलात्कारका अभियुक्त सार्वजनिक गर्दै प्रहरी
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा बलात्कारका घटना अत्यधिक रूपमा बढी रहेका छन् । गएका तिन वर्षमा ४ सय ५९ जना बलात्कारको सिकार भएका छन् ।  परिवारकै सदस्य,छिमेकी र आफन्त बाटै बढी बलात्कार हुन थालेपछि चुनौती बढेको छ ।  कञ्चनपुरमा दुई वर्षअघि १३ बर्सिया वालिका निर्मला पन्तको बलात्कार पछि बीभत्स हत्या भयो । सो घटनाका बेलादेखि कञ्चनपुरबाटै सुरु भएको बलात्कार विरुद्धको आन्दोलन देशभरि नै चर्कियो । यद्यपि उक्त घटनाका दोषीलाई प्रहरीले  अहिले सम्म पनि पक्राउ गर्न सकेन ।  असोज ७ गते घरबाट गोठ हिँडेकी बझाङको मस्टा गाउँ पालिका की  सम्झना कामीलाई मन्दिरभित्र  बलात्कार पछि हत्या गरियो ।  उनको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । सम्झनाको हत्या हुनु भन्दा ठिक १२ दिन अघि मात्रै राजेन्द्रले खिकाला कै १३ बर्सिया अर्की युवतीको बलात्कार गरेका थिए । जुन घटना गाउँमै गुपचुप मिलाइएको थियो । यस लगत्तै बझाङमा ससुराबाटै एक महिला बलात्कृत भएकी छिन । यी त प्रतिनिधिमूलक घटना मात्रै हुन । पछिल्लो समय दिनहुँ जसो बलात्कारका घटना वढदै गएका छन् । 

अधिकांश बलात्कारका घटनामा आफन्त,छिमेकी र नातागोताको संलग्नता हुने र गाउँमै घटना मिलाउने परिपाटीले पनि अपराधीहरूले प्रशय पाउने गरेका छन् । कतिपय घटनामा न्याय प्रणालीमा हुने ढिलाइ र राजनैतिक लगायत पहुँचवालाको संरक्षणले पनि पीडितले न्याय पाउन समस्या देखिएको मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी धनराज शाहीले बताए । 

सुदूरपश्चिम प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७४–०७५ मा ९७ जना बलात्कृत भएका थिए भने आर्थिक वर्ष २०७५–०७६ मा १ सय ६३ जना बलात्कारमा परे । त्यस्तै २०७६–०७७मा १९९ महिला बलात्कृत भए भने चालु आर्थिक वर्षको तिन महिना नबित्दै ६७ जनाले बलात्कारको सिकार हुनु परेको छ । तर यस्ता घटनामा संलग्नहरू कानुनको दायरामा भने निकै कम सङ्ख्यामा आएका छन् । घटनामा आफन्तकै संलग्नता हुने र गाउँमै मिलाउने परिपाटीले यस्ता अपराधीलाई कानुनको दायरामा ल्याउनमा चुनौती थपिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । 

स्रोतः–सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय

२०७६ भदौ यता अपराध संहिता लागु भएपछि बलात्कारका घटनाका दोषीलाई कानुनको दायरामा ल्याउन त धेरै सहज बनाइ दिएको छ ।  तर गाउँ समाजमै यस्ता घटना मिलाउने र दूर दराजका महिलाहरू न्यायको पहुँच सम्मै पुग्न नसकेका कारण पनि यस्ता घटना बढ्दै गएका हुन । यस्ता घटनाको न्यूनीकरणका लागी सरोकारवाला सबै निकायले अग्रसर हुन जरुरी छ । 

 

 

प्रकाशित:
2020/10/28, 10:27