नमुना सङ्कलन र परीक्षण कम हुँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै घट्यो

पछिल्लो २४ घण्टामा ८ जनामा मात्रै सङ्क्रमण
Corona Update

धनगढी–नमुना सङ्कलन र परीक्षण कम हुँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । दशैँका कारण ३ दिन यता कोरोना परीक्षण बन्द भएको थियो । आज बाट परीक्षण सुचारु भए पनि नमुना सङ्कलन पर्याप्त हुन सकेन ।  प्रदेशमा आज थप ८ जनामा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा १ सय ७७ जनाको परीक्षण गरिएकोमा ८ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।  उनका अनुसार सेती अस्पताल प्रयोगशालामा ६ र कमल बजार नगरपालिकाको प्रयोगशालामा २ जनामा सङ्क्रमण  देखिएको हो । सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका र दशरथ चन्द नगरपालिकाका १÷१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३ र ५ का १ र १ जना र वडा नखुलेको १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय ९४ पुगेको छ । ७ हजार ५ सय ९५ जना निको भएका छन् । १ हजार ६ सय ७८ जना सक्रिय सङ्क्रमित छन् । 

प्रकाशित:
2020/10/28, 7:45