एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।बिहिबार राती सम्पन्न खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक पर्दा चेन्नईले ४ बलमा ३ रन जोडेको थियो । कमलेश नगरकोटीले फ्याँकेको उक्त ओभरको अन्तिम दुई बलमा रविन्द्र जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईको जित पक्का पक्का गराए । जडेजा ११ बलमा २ चौका र ३ छक्का सहित ३१ रनमा अविजित रहे । साम करन १४ बलमा १ चौका सहित १३ रनमा अविजित रहे ।
युवा ओपनर रितुराज गायक्वाडले सर्वाधिक ७२ रनको योगदान दिए । प्याट कमिन्सले बोल्ड आउट गर्नुअघि ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । अम्बाती रायुडु २० बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा आउट भए । शेन वाटसन १४ र महेन्द्रसिंह धोनी १ रनमा आउट हुन पुगे । कोलकाता प्याट कमिन्सले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । बरुण चक्रवर्तीले ४ ओभरमा २० रन खर्चेर २ विकेट हात पारे ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । कोलकाता ओपनर नितेश राणाले ६१ बलमा १० चौका र ४ छक्का सहित सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।
आठौं ओभरको दोस्रो बलमा स्पिनर करण शर्माले ओपनर सुभमन गिललाई २६ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । पहिलो विकेटका लागि सुभमन गिल र नितेशले ५३ रनको साझेदारी गरेका थिए । गिलले १७ बलमा ४ चौका प्रहार गरे । स्पिनर मिचेल सान्टनारको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुनिल नारायण ७ रनमा रविन्द्र जडेजाबाट क्याच आउट भए । जडेजाले १३ औं ओभरको पाँचौं बलमा रिंकु सिंहलाई ११ रनमा अम्बाती रायुडुबाट क्याच आउट गराए ।
लुन्गी एनगिडीको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका राणा लङअनमा साम करनबाट क्याच आउट हुन पुगेपछि शतक बनाउन चुकेका थिए । चौथो विकेटका लागि कप्तान ओईन मोर्गन र नितेशले ४४ रनको साझेदारी गरेका थिए । दीनेश कार्तिक १० बलमा ३ चौका सहित २१ रनमा अविजित रहे । मोर्गन १२ बलमा २ चौका सहित १५ रनमा क्याच आउट भए । राहुल त्रिपाठी ३ रनमा अविजित रहे ।
करण शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । मिचेल सान्टनारले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए । एनगिडीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । यो हारसँगै कोलकाताको प्ले अफको सम्भावना कठिन बनेको छ । अब कोलकाता अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ । कोलकाताले अन्तिम खेल आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । चेन्नईले अन्तिम खेल आइतबार किंग्स इलेभेने पन्जाबसँग खेल्ने छ ।
आइपिएलको अंक तालिका
मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।
कोलकाता १३ खेलमा ६ मा जित र ७ मा हार सहित पाँचौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ८ मा हार र ५ मा जित सहित पुछारमा छ ।