स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

foot ball
सुदूर प्रेस संवाददाता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना १० खेलाडीमा समेटिएको डेपोर्टिभो अलाभेससँग बराबरीमा रोकिएको छ । एन्टोइन ग्रिजमनले दोस्रो हाफमा बराबरी गोल फर्काएपनि बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो ।

लिगमा लगातार चौथो खेल जितविहिन रहेको बार्सिलोना ३१ औं मिनेटमा पछि परेको थियो । घरेलु टोली अलाभेसले लुइस रिओजाको गोलमा अग्रता लिएको थियो । उनले गोलरक्षक नेटोबाट बल खोस्दै गोल गरेपछि अलाभेसले अग्रता लिएको थियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा अलाभेस १० खेलाडीमा सिमित भयो । मिडफिल्डर जोटा दोस्रो पहेंलो कार्ड प्राप्त गरेपछि बार्सिलोनालाई खेलमा फर्कने बाटो खुलेको थियो । बार्सिलोनाले त्यसको सदुपयोग गर्दै १ मिनेटमा नै खेल बराबरीमा ल्यायो । एन्टोइन ग्रिजमनले गोल गर्दै पुनरागमनको संकेत दिएका थिए ।

त्यसअघि अलाभेसका गोलरक्षक फर्नान्डो पचेकोले उत्कृष्ट प्रदर्शन गर्दै अन्सु फातीको प्रहार विफल पारेका थिए । ग्रिजमनको गोल भीएआरले मान्यता नपाउँदा बार्सिलोनालाई थप पिडा भएको थियो । पचेकोले कप्तान लिओनेल मेस्सी, मिरालेम प्यानिच र सर्जिनो डेस्टको प्रहार पनि रोकेका थिए । बार्सिलोनाले खेलको अधिकांश समय बलमा पकड बनाउँदै आक्रमण बुनेपनि गोल थप्न भने सकेन ।

च्याम्पियन्स लिगमा लगातार दुई जितसहित अंक तालिकाको शीर्षस्थानमा रहेको बार्सिलोना लिगमा भने संघर्ष गरिरहेको छ । टोलीले ६ खेलमा जम्मा १० अंक जोडेको छ । बार्सिलोना लिग तालिकामा १२ औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल भन्दा बार्सिलोना ८ अंकले पछि परिसकेको छ ।

प्रकाशित:
2020/11/01, 9:03