कसले गर्‍यो दार्चुलामा तलब लिन हिँडेका प्रधानाध्यापकको हत्या ?

आफन्तद्वारा महाकाली राजमार्ग अवरुद्ध
Death

बैतडी – डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन्। ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन्। 

मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए। साथै उनको साथमा नगद ८५ हजारसमेत भेट्टिएको छ। उनले भने, ‘प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनी गोकुलेश्वर आएका बुझिएको छ, प्रहरीले अनुसन्धान गर्दैछ।’

घरडीसँगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएका भए पनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ। घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन्।

मृतकको शरीरमा निलडाम र घाउ रहेकोले हत्या गरेर फालेको आफन्तको आशंका छ। प्रहरीको टोली घटनास्थलमा छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच मृतकका आफन्तले महाकाली राजमार्ग अवरुद्ध पारेका छन्। घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका हुन्। साथै उनीहरुले सत्यतथ्य छानबिन तथा दोषीलाई पक्राउ नगर्दा शवसमेत नबुझ्ने अडान लिएका छन्। अहिले आफन्त र प्रहरी प्रशासनबीच छलफल भइरहेको छ।


 

प्रकाशित:
2020/11/03, 6:44