आइपिएलः एलिमिनेटर खेलमा आज बेंगलोर र हैदराबाद भिड्दै

ipl
सुदूर प्रेस संवाददाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्दा पराजित हुने प्रतियोगिताबाट बाहिरिने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ । आजको विजेता फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् ।जारी सिजनमा हैदराबाद पहिलो खेलमा १० रनले पराजित हुँदा दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

हैदराबादले पछिल्ला तीन खेलमा मुम्बई, दिल्ली र बेंगलोरलाई हराउँदै प्ले अफमा स्थान बनाएको हो । बेंगलोरले पछिल्ला चार खेलमा लगातार हार बेहोरेपनि नेट रनरेटका आधारमा कोलकाता नाइट राइडर्सलाई पछि पार्दै प्ले अफमा स्थान बनाएको हो । पछिल्लो लगातार हारको कारण टोली मजबुत र जित निकाल्न बेंगलोरले आज टोलीमा केहि परिवर्तन गर्ने छ । आजको हार्ने टोली प्रतियोगिताबाट बाहिरिने हुँदा दुबै टोली उत्कृष्ट प्रर्दशन गर्न खोज्ने छन् ।

हैदराबादले पछिल्लो खेलमा उत्कृष्ट प्रर्दशन गर्दै मुम्बईलाई १० विकेटले हराएको थियो । जसक्रममा ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रर्दशन गरेको थियो । मुम्बईविरुद्ध कप्तान डेभिड वार्नर ८५ रन र ऋद्धिमान शाह ५८ रनमा अविजित रहेका थिए । पछिल्ला तीन लगातार जितमा यी दुई ओपनरको योगदान अहम हुँदा बेंगलोरविरुद्ध ओपनिङ परिवर्तन हुने छैन । तेस्रो नम्बरमा मनिष पान्डे र केन विलियम्सन खेल्ने छन् ।

प्रियम गर्गको स्थानमा युवा ब्याट्समयान विराट सिंहलाई मौका दिन सक्छ । जसले मध्यक्रम थप मजबुत हुने छ । भारतीय घरेलु क्रिकेटमा उच्च प्रर्दशन गरेका सिंह पनि डेब्यूको पर्खाईमा छन् । तल्लोक्रममा जेसन होल्डर र अब्दुल सामदलाई खेलाउने छ । मुम्बईविरुद्ध प्लेयर अफ द म्याच चुनिएका स्पिनर शहबाज नदीम र राशिद खान स्पिनरको रुपमा खेल्ने छन् । सन्दीप शर्मा र टि नटराजन हैदराबादको तीव्र गतिको बलिङमा पहिलो रोजाईमा खेल्ने छन् ।

 

यता बेंगलोर पछिल्लो खेलमा दिल्लीसँग ६ विकेटले पराजित भएको थियो । दिल्लीविरुद्ध सस्तैमा आउट भएका जोश फिलिपेको स्थानमा आरोन फिन्चलाई मौका दिने छ । फिन्च र देवदत्त पाडिक्कलले ओपनिङ गर्ने छन् । तर ब्याटिङ बलियो बनाउन फिलिपेलाई बेंगलोरले तल्लोक्रममा खेलाउन सक्ने सम्भावा पनि त्यतिनै छ । तेस्रो नम्बरमा विराट कोहली र चौथो नम्बरमा एबी डिभिलियर्सले गर्ने छन् ।’

पाँचौ नम्बरमा मोईन अली वा फिलिपेको सम्भावना रहन्छ । इसुरु उडान आज बेन्चमा बस्ने सम्भावना देखिन्छ । नवदीप सैनी टोलीमा फर्किए शिवम् दुबे बेन्चमा बस्ने छन् । क्रिस मोरिस अलराउन्डरको रुपमा खेल्ने छन् । वासिन्टन सुन्दर र युजभेन्द्र चहललाई स्पिनरको रुपमा खेलाउने छ । तीव्र गतिमा मोरिस, सैनी र मोहम्मद शिराज खेल्ने छन् ।

हैदराबादको सम्भावित प्लेइङ ११ : डेभिड वार्नर (कप्तान), ऋद्धिमान शाह (विकेटकिपर), मनिष पान्डे, केन विलियम्सन, विराट सिंह/प्रियम गर्ग, अब्दुल सामद, जेसन होल्डर, शहबाज नदीम, राशिद खान, टि नटराजन र सन्दीप शर्मा ।

बेंगलोरको सम्भावित प्लेइङ ११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिभिलियर्स (विकेटकिपर), जोश फिलिपे/मोईन अली, क्रिस मोरिस, नवदीप सैनी, मोहम्मद शिराज, युजभेन्द्र चहल, वासिन्टन सुन्दर र शहबाज अहमद ।

प्रकाशित:
2020/11/06, 6:42