बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु

सुदूर प्रेस संवाददाता

बैतडी–चितुवाको आक्रमणबाट बैतडीको एक किशोरीको ज्यान गएको छ। शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको हो। घाँस काट्न सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिएका छन्।

आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो। घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने बैतडीले प्रहरीले जनाएको छ। घटनाबारे थप बुझ्न जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बैतडीको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा अहिले सम्म २७ जनाको ज्यान गइसकेको छ।

चितुवाले केही दिन शिवनाथसँग सीमा जोडिएको भारतको तमोलीमा पनि मान्छे ज्यान लिएको र सोही चितुवा नेपाल भित्रिएको हुन सक्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउँदले बताए।

प्रकाशित:
2020/11/09, 6:17