आइपिएलः दिल्लीको खराब सुरुवात

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध खराब सुरुवात गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले सुरुवाती ५ ओभरमा प्रमुख तीन विकेट गुमाउँदै ३५ रन बनाएको छ । दिल्लीले पहिलो बलमै ओपनर मार्कस स्टोइनिसलाई गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा स्टोइनिस इनसाइड एज लाग्दै विकेटकिपर क्विन्टन डी ककबाट समातिन पुगेपछि गोल्डेन डग आउट पेभिलिएन फर्के ।

बोल्टलेनै मुम्बईलाई दोस्रो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा अजिक्या रहाने लेग साइडमा सट खेल्नेक्रममा एज लाग्दै २ रनमा डी ककबाट समातिन पुगेका थिए । जुन समय दिल्लीले १६ रन बनाएको थियो ।

चौथो ओभरको तेस्रो बलमा स्पिनर जयन्त यादवले अर्का ओनपर शिखर धवनलाई १५ रनमा बोल्ड आउट गरे । धवनले १३ बलमा ३ चौका प्रहार गरे । धवन आउट हुँदा दिल्ली २२–३ को कमजोर अवस्थामा पुगेको थियो । कप्तान श्रेयस ऐर १४ र विकेटकिपर ऋषभ पन्त ४ रनमा खेलि रहेका छन् । बोल्टले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका छन् ।

प्रकाशित:
2020/11/10, 8:31