बीएससी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि (तालिकासहित)

विद्यार्थीले घरपायक केन्द्रबाट परीक्षा दिन पाउने
exam
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण प्रभावित परीक्षा मंसिर २८ गतेबाट सञ्चालन गर्ने भएको छ । विद्यार्थीले घर पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि समय तालिकासमेत प्रकाशित गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन र शिक्षाशास्त्र संकायको परीक्षा तालिका सार्वजनिक गरिएको हो ।

चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको हो । मंसिर २८ गते बिहान ८ बजेबाट परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ । कार्यालयले विद्यार्थीलाई आफूलाई पायक पर्ने परीक्षा केन्द्र रोज्न अनलाइन आवेदन माग गरेको थियो । केन्द्र नरोजेका विद्यार्थीले त्रिविले तोकेभन्दा अन्य ठाउँबाट परीक्षा दिए रद्द गरिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयमार्फत सञ्चालन हुने परीक्षामा सहभागी हुने परीक्षार्थी एक लाख छन् । तीमध्ये तीन हजारले घरपायक केन्द्रबाट परीक्षा दिन आवेदन दिएको त्रिविका रजिस्ट्रार पेशल दाहालले जानकारी दिए । ‘अन्य विद्यार्थीको हकमा पहिले जस्तै साबिकका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन्छ,’ उनले भने, ‘सरकारले तोकेको मापदण्ड पूरा गरेर परीक्षा लिन्छौं ।’ चिकित्सा शिक्षा, इन्जिनियरिङलगायत डिन कार्यालयबाट सञ्चालन हुने परीक्षाको तयारी पनि सुरु गरिएको उनले जनाए । डिन कार्यालयहरूले मंसिर अन्तिम वा पुस पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने गृहकार्य गरिरहेका छन् । वन विज्ञानलगायत थोरै विद्यार्थी संख्या भएका संकाय र विषयको परीक्षा सकिएको त्रिविले जनाएको छ ।

कोरोना संक्रमणका कारण विद्यार्थीको आवेदनका आधारमा प्रत्येक जिल्लामा कम्तीमा एउटा सेन्टर कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो । त्रिविकै आंगिक र सम्बन्धनमा सञ्चालित क्याम्पसमा परीक्षा केन्द्र तोकेर स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइने शिक्षाध्यक्ष कार्यालयले जनाएको छ । सरकारले परीक्षा सञ्चालन गर्न रोक लगाएका कारण गत चैत ७ गतेदेखि त्रिविका परीक्षा रोकिएका थिए । वैकल्पिक विधिबाट र परम्परागत विधिबाटै दसैंअघि नै परीक्षा लिने तयारी अघि बढाए पनि कोरोना संक्रमण फैलँदा असम्भव भएको थियो ।

सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि विद्यार्थीलाई पायक पर्ने गरी कक्षा १२ को पनि संक्षिप्त परीक्षा परम्परागत विधिबाटै सञ्चालन गरिने भएको छ । मंसिर ९ गतेबाट देशभर परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले समयतालिका सार्वजनिक गरिसकेको छ ।

           हेर्नुहोस् परीक्षा तालिका–

प्रकाशित:
2020/11/12, 5:59