आइपिएलमा सहभागिता जनाएर सन्दीप स्वदेश फिर्ता

sandeep

काठमाडौं  – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा सहभागिता जनाएर स्वदेश फर्किएका छन् ।

आज विहान दुई बजे सन्दीप नेपाल आइपुगेको सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए । सन्दीप तीन महिनापछि स्वदेश फर्किएका हुन् ।

झन्डै तीन साताको बसाईपछि उनी बिग ब्यास लिग (बिबिएल) खेल्न सन्दीप अष्ट्रेलिया जाने छन् । सन्दीपले बिबिएलको सुरुवाती केहि खेल गुमाउने छन् । सन्दीपले कुन टोलीबाट बिबिएल खेल्ने भने अझैं टुङ्गो भने लागेको छैन । तर सम्झौताको भने अन्तिम चरणमा पुगेको बताइएको छ ।

यसअघि दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण नभएपछि नयाँ टोलीबाट खेल्ने छन् । बिबिएल डिसेम्बर १० देखि फेब्रुअरी ६ सम्म चल्ने छ । सन्दीप गत साउन १५ मा नेपालबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका थिए । जमैका तलावाजबाट सिपिएल खेलेका सन्दीपले १० खेलमा १२ विकेट लिएका थिए । सन्दीप सिपिएल खेलेर भदौ २९ मा संयुक्त अरब एमिरेट्स (यूएई) आइपिएल खेल्न पुगेका थिए ।

सिपिएलमा राम्रो प्रर्दशन गरेका सन्दीपले आइपिएलमा गत सिजन भन्दा बढी खेल्ने आशावादीका साथ यूएईमा दिल्लीको टोलीसँग जोडिएका थिए । तर दिल्लीले सन्दीपलाई यस सिजनमा कुनैपनि खेलमा मौका दिएन । उप विजेता बनेको दिल्लीले कुल १७ खेल खेल्दा सन्दीपलाई पूरै खेलमा प्लेइङ ११ बाहिर राखेको थियो ।

दिल्ली मंगलबार भएको फाइनलमा मुम्बईसँग ५ विकेटले पराजित भएको थियो । दिल्लीसँग यो तीन वर्षे सम्झौता अनुसार सन्दीपको अन्तिम वर्ष हो । सन् २०१८ मा तीन र २०१९ मा ६ खेल खेलेका थिए । अगामी जनवरी फेब्रुअरीमा नेपालको अन्तर्राष्ट्रिय खेलको सम्भावना हुँदा सन्दीपले बिबिएल पुरै खेल्न नपाउने सम्भावना छ ।

प्रकाशित:
2020/11/12, 10:10