अर्जेन्टिना बराबरीमा रोकियो

arjentina

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो खेलमा अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिएको छ । यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो ।


खेलको २१ औं मिनेटमा पाराग्वेले अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एन्जल रोमेरोले पेनाल्टीमा सहज गोल गर्दै खेलमा पाहुना टोलीलाई अघि बढाए ।

खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो । पहिलो हाफको ३१ औं मिनेटमा एजेकेल पालासिओसको स्थानमा मैदान प्रवेश गरेका जिओभानी लो सेल्सोको कर्नरमा निकोलस गोन्जालेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।


दोस्रो हाफको ५८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । लो सेल्सोको पासमा मेस्सीले पहिलो टचमा गरेको प्रहार गोल भएपनि उक्त मुभका क्रममा मिडफिल्डमा डोमिन्गेजबाट फल भएको देखिएपछि गोलले मान्यता पाएन । ७३ औं मिनेटमा मेस्सीकै प्रहारमा गोलरक्षक एन्टोनि सिल्भाले उत्कृष्ट डाइभ बचाउ गरेपछि खेल बराबरी नै रहयो ।

यस बराबरीका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको ३ खेलमा ७ अंक छ । दोस्रो स्थानको ब्राजिलको २ खेलमा ६ अंक छ भने तेस्रोमा रहेको इक्वेडरले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे पनि ३ खेलमा ५ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित:
2020/11/13, 8:33