बैतडी बस दुर्घटना अपडेटः मृतक ७ जनाको सनाखत

accident
दुर्घटना स्थल
सुदूर प्रेस संवाददाता

बैतडी– बैतडीको पाटन नगरपालिका–८ को खोड्पेमा गए राती भएको बस दुर्घटनामा परि मृत्यु भएका ९ जना मध्ये ७ जनाको सनाखत भएको छ । अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु भएका मध्ये बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्द, सोही वडाका करण सिंह ऐरी र कवीन्द्र जोशी रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिका– ७ घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालिका– १० बस्ने विजना धामी रहेकी छिन् । यस्तै दार्चुलाको मालीकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा , दार्चुलाकै तर्कराज गिरि र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्की रहेकी छिन् । 
दुर्घटनामा ३४ जना घाइते भएका छन् । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर –२ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस राती करिब १० बजेतिर दुर्घटनामा परेको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । मृत्यु हुनेका ७ जना पुरुष र २ जना छन् । मृतक मध्ये १ जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु थियो ।  अन्यको भने घटनास्थलमै मृत्यु भएको उनले बताए । उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको १ जना बाहेक मृतक सबैको शवलाई जिल्ला अस्पताल बैतडी ल्याइएको छ । 
घाइते ३४ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीले बताएको छ । सबैलाई उपचारको लागी राती डडेलधुरा अस्पताल पठाइएको थियो । गम्भीर घाइते ७ जनालाई डडेलधुराबाट धनगढी रेफर गरिएको छ । बसका चालक र सहचालक दुवै घाइते छन् । बसका ४० जना जति यात्रु सवार रहेको बताइएको छ । 

प्रकाशित:
2020/11/13, 9:38