बंगलादेशसँग नेपाल २-० ले पराजित

foot ball
सुदूर प्रेस संवाददाता

काठमाडौँ–एजेन्सी–बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको छ । ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशले प्रत्येक हाफमा एक/एक गोल गरे । बंगलादेशले दसौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो र त्यसमा मोहम्मद नबिब नेवाजले नजिकको दूरीबाट गोल गरे ।

बंगलादेशका तर्फबाट ८० औं मिनेटमा महबुर रहमानले काउन्टर आक्रमणमा बल अगाडि बढाउँदै दोस्रो गोल गरे । नेपालले पूरा खेल अवधिमा सटिक देखिन सक्ने कुनै पनि आक्रमण गर्न सकेन र हार बेहोर्न बाध्य रह्यो । यससँगै दुई खेलका शृंखलामा बंगलादेशल १–० ले अगाडि रह्यो । अब दोस्रो खेल मंसिर २ मंगलबार हुनेछ ।


यस खेलसँगै नेपाली खेलकुदमा औपचारिक रूपमा खेल गतिविधि फेरि सुरु भएको छ । चैतमा कोरोना भाइरस संक्रमणको महामारी पनि सम्पूर्ण खेल गतिविधि पनि रोकिएको थियो र यससँगै पूरा खेल क्षेत्र ठप्प भएको थियो । बंगलोदशका लागि यस खेलसँगै त्यहाँको खेल क्षेत्र पनि ओपचारिक रूपमा मैदानमा फर्केको छ ।

बंगलादेशले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले त्यसलाई स्वीकारेको हो । दुई साताभन्दा कम समयको तयारीपछि नेपाल मैदानमा ओर्लेको हो । बंगलादेशले नेपाललाई हराएका भने पाँच वर्षयता पहिलो हो । यसअघि सन् २०१५ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि बंगलादेशले नेपाललाई ढाकामै हराएको थियो ।

प्रकाशित:
2020/11/13, 8:07