बैतडी बस दुर्घटनाः बिग्रिएको बस जबर्जस्ती चलाउँदाको परिणाम

Accident
बिहीबार राती बैतडीमा भएको बस दुर्घटनाको तस्बिर, यो दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीको डिलासैनी–२ गन्नाबाट बिहीबार साँझ ५ बजे महेन्द्रनगरका लागि छुटेको बसमा न यात्रु खचाखच थिए न त ओभरलोडको समस्या । तैपनि बाटोमा बेलाबेलामा इन्जिनमा समस्या आइरहेको थियो । स्टार्ट बन्द हुन खोज्दा चालक वीरेन्द्र कार्की रोक्थे ।

ठोकठाक पार्थे, स्टार्ट हुन्थ्यो, अघि बढाउँथे । झिँझो मानेका यात्रुले उत्रेर अर्को गाडी सजिलै पाउने विकल्प थिएन । हेर्दै, दिक्क मान्दै यात्रा गरिरहेका थिए ।

पहाडको बाटो । रातको समय । यात्रुमध्ये अधिकांश निदाएकै बेला पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको उक्त बस अचानक पल्टियो । राति करिब १० बजे पाटन नगरपालिका–८ खोड्पे बजारनजिकै बस सडकबाट करिब ६ सय मिटर तल खसेको हो । घटनामा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते छन् । मृत्यु हुनेमा ७ पुरुष र २ महिला छन् । बिग्रिएकै अवस्थामा जबर्जस्ती चलाउँदा दुर्घटना भएको घाइते यात्रुहरूले बताएका छन् । गन्नाबाट छुटेको केही समयमै बिग्रेको बस रोकेर बेलाबेला चालकले जाँच गर्दै चलाउँदै गरेको पनि घाइते यात्रुहरूले बताए ।

‘बिग्रेको बसले कसरी लैजान्छ, अर्को छैन चलाउन ? भन्दा ड्राइभरले केही हुँदैन, सामान्य खराबी हो भनेका थिए,’ डडेलधुरा अस्पतालमा उपचाररत घाइते कञ्चनपुरको शुक्लाफाँटा–७ का हर्कबहादुर धामीले भने, ‘गन्नाबाट छुट्दै एकपटक बिग्रिएको थियो, हिँडेपछि ठाउँ–ठाउँमा ठोकठाक गर्दै चलाइरहेका थिए ।’ बस सडकबाट खस्नुभन्दा केहीअघि पनि दुर्घटनाबाट जोगिएको उनले बताए । ‘बस पल्टिनुभन्दा आधा घण्टाअघि पाटनको उकालोमा पनि एक्सिडेन्ट हुनबाट जोगिएको थियो,’ उनले भने, ‘बसमा ओभरलोड, कोचाकोच पनि थिएन । सामान पनि धेरै थिएन, ड्राइभरको लापरबाहीले घटना भयो ।’

अर्का घाइते यात्रु बैतडी खोचलेकका रितेश भट्टले पनि पटक–पटक चालकलाई गाडी बिग्रिएको भए रोकिदिन आग्रह गरेको बताए । ‘मैले पनि दुईपटक अनुरोध गरें,’ उनले भने, ‘ठाउँ–ठाउँमा रोकेर हेर्दै चलाउँदै गरेका ड्राइभरले सामान्य खराबी भएको हो, आत्तिनु पर्दैन भनिरहेका थिए ।’ दुर्घटनाका अर्का घाइते अछामका अमृत कुमालले पनि चालकले जबर्जस्ती बस चलाउँदा दुर्घटना भएको बताए ।

‘म एक्स्काभेटर चलाउँछु, गाडीको खराबी थाहा छैन । मैले पनि बस बिग्रिएको भए नचलाउनुहोस् भनेको हुँ तर टेरेनन्,’ उनले भने, ‘पाटनको उकालोमा पनि बस पटक–पटक तलमाथि गर्दागर्दै मुस्किलले खोड्पेनजिक पुर्‍याएका हुन् ।’ खोड्पे पुग्नअघि नै उत्रिन खोजे पनि चालकले सामान्य खराबी भनेकाले नझरेको पनि उनले बताए । ‘बेलैमा डडेलधुराको स्याउले पुगे धनगढीबाट अछाम जाने बस पाइने आसमा म झरिनँ, गल्ती भयो,’ उनले भने, ‘बसमा खराबी भएको अनुमान भइसक्दा पनि यात्रा गरें, त्यसैको फल हो टाउकोमा गम्भीर चोट लाग्यो । धन्न ज्यानचाहिँ बच्यो ।’

दुर्घटनामा बस मालिकसमेत रहेका चालक बैतडीको खोचलेकका कार्की पनि घाइते छन् । आफैं मालिक पनि चालक पनि भएकाले केही नहोला भन्ने सोचेरै यात्रा गरेको घाइतेहरूले बताएका छन् । दुर्घटनाका गम्भीर घाइते सबैलाई डडेलधुरा अस्पतालले धनगढी रिफर गरेको छ । सामान्य घाइतेमध्ये ९ जना डडेलधुरामै उपचाररत छन् । केहीलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

प्रहरीले भने चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । ‘अझै कारण पक्का भइरहेको छैन । अनुसन्धान गर्दैछौं,’ बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीले भने । दुर्घटनामा घाइते चालक कार्कीको धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भइरहेको छ । चालक कार्कीले बसमा कुनै खराबी पहिला नदेखिएको र एक्कासि स्टेरिङ अड्किएर बायाँ मोड्न नपाउँदा बस दुर्घटनामा परेको दाबी गरेका छन् । ‘उकालोमा दायाँ भीरको मोडबाट गाडीलाई बायाँतिर मोड्न नसकेर गाडी पल्टियो,’ उनले भने ।

माया मेट्रोमा उनीसँगै सात जना घाइतेको उपचार भइरहेको छ । ती घाइतेहरूले आफूहरू झ्याल र ढोकाबाट बाहिर खसेकाहरूको ज्यान बाँचेको बताएका छन् । बसभित्रबाट बाहिर निस्कन नपाएकालाई बढी चोट लागेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय कवीन्द्रप्रसाद जोशी, २७ वर्षीय करनसिंह ऐरी, ३० वर्षीय करणबहादुर चन्द, दार्चुलाको मालिकार्जुन–५ डाँडागाउँका ४२ वर्षीय जगन्नाथ ओझा, दार्चुला खरकडाका ७५ वर्षीय तर्कराज गिरी, कञ्चनपुरको भीमदत्त–१० की ६५ वर्षीया विजनादेवी धामी, भीमदत्त–८ तिलाचौरकी १६ वर्षीया कृतिका कार्की, कैलालीको धनगढी–१४ फूलबारीका २६ वर्षीय नरेन्द्र चौधरी र धनगढीकै आदर्श टोलका ५९ वर्षीय ऋषिराम चौधरी छन् । मृतकमध्ये जोशी दोगडाकेदार गाउँपालिकाका कर्मचारी, चन्द प्रहरी जवान र ओझा शिक्षक हुन् ।

उपचारका क्रममा डडेलधुराको अस्पतालमा मृत्यु भएकी कृतिका कार्कीबाहेक अन्य सबै मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शुक्रबार साँझबाट मात्रै शवको पोस्टमार्टम सुरु भएको प्रहरीले जनाएको छ ।

बस पल्टिएको खबर पाउनासाथ राति नै डीएसपी अधिकारीको नेतृत्वमा उद्धारका लागि टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयले मिलेर घाइतेहरूको रातिबाटै उद्धार गरेका थिए । गन्नाबाट दुर्घटना भएको स्थानसम्म बढीमा साढे ३ घण्टामा पुग्नुपर्ने गाडी ५ घण्टा लाग्नुले नै बसको अवस्था ठीक नभएको शंका गर्ने ठाउँ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2020/11/14, 7:41