फ्रान्ससँग पोर्चुगलको हार, उपाधि होडबाट बाहिरियो

ronaldo

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारको खेलमा फ्रान्ससँग पराजित भएपछि साविक विजेता पोर्चुगल समूह चरणबाट बाहिरिएको छ । घरेलु मैदानमा पोर्चुगल १-० ले पराजित हुन पुग्यो ।

फ्रान्सको जितमा मिडफिल्डर एनगोलो कान्टेले एकमात्र गोल गरे । उनले ५३ औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि पहिलो हाफमा एन्थोनी मार्सियलको हेडर क्रसबारमा लाग्दा फ्रान्सले अघि बढ्ने अवसर गुमाएको थियो ।

पहिलो हाफमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि प्राप्त अवसर सदुपयोग गर्न सकेनन् । उनकै पासमा दोस्रो हाफमा जोआओ मोउटिन्होले गरेको शक्तिशाली प्रहार पनि फ्रान्सका कप्तान ह्युगो लोरिसले विफल पारिदिए । पोर्चुगलका डिफेन्डर जोसे फोन्टेको प्रहार पोस्ट लगेर फर्कंदा पोर्चुगल खेलमा फर्कन सकेन ।

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेको फ्रान्सले पहिलो हाफमा निकै दबाब क्याम गरेको थियो । तर गोलरक्षक रुइ प्याट्रीसिओले सानदार बचाउ गर्दै खेल बराबरीमा नै राखे । उनले मार्सियलको दुई तथा किंग्सले कोमनको एक राम्रो प्रहार विफल परेका थिए । ५३ औं मिनेटमा गोल हुँदा पनि उनले राबीओटकै प्रहार बचाउँदा कान्टेले गोल गर्न सकेका थिए ।


यस नतिजाले फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले भने उपाधि रक्षा गर्न नपाउने पक्का भएको छ । फ्रान्सले अन्तिम खेलमा क्रोएसियाको सामना गर्दैछ । समान अंक हुँदा हेड टु हेड लागु हुने भएपछि फ्रान्स अनि अंक तालिकाको शीर्षस्थानमा रहने पक्का भएको हो ।

फ्रान्सको ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंक छ भने पोर्चुगल १ हार, ३ जित र १ बराबरीसहित १० अंकमा छ । क्रोएसिया र स्विडेनको समान ३-३ अंक छ । अंक तालिकाको पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछ । शनिबारकै खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले हराएको थियो ।

प्रकाशित:
2020/11/15, 6:49