यूईएफए नेसन्स लिगः बेल्जियमले इंग्ल्यान्डलाई हरायो

foot ball

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार बेल्जियमले इंग्ल्यान्डमाथि जित हासिल गरेको छ ‌। पहिलो हाफमा दुई गोल गरेपछि घरेलु टोली २-० ले विजयी भयो ।

खेलको दशौं मिनेटमा इंग्लिस क्लब लेस्टर सिटीका मिडफिल्डर युरि टिलेमान्सले गोल गरेका थिए । इंग्ल्यान्डले आफ्नै मिडफिल्डमा बल गुमाएपछि बढेको काउन्टरमा गोल खाएको थियो । रोमेलु लुकाकुले दिएको पासलाई टिलेमान्सले २० यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो ।

२४ अौ मिनेटमा ड्रिज मर्टेन्सले बेल्जियमको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्र नजिकै प्राप्त फ्रिकिकलाई मर्टेन्सले सिधै गोेमा परिणत गरेका थिए । पहिलो हाफमा नै इंग्ल्यान्डले खेलमा फर्कने प्रयास गरेपनि गोलरक्षक थिबाउट कोर्टुवाले दुई सुन्दर बचाउ गरे ।

दोस्रो हाफमा इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै आक्रमण प्रयास गरेपनि सफल हुन सकेन । यस पराजयले इंग्ल्यान्डको अर्को चरणमा प्रवेश गर्ने सम्भावना भने सकिएको छ । बेल्जियमले अब अन्तिम खेलमा डेनमार्कसँग खेलेपछि समूहको टुंगो लाग्नेछ ।

डेनमार्कले आइतबार नै आइसल्यान्डमाथि २-१ को जित दर्ता गर्यो । डेनमार्कका लागि दुवै गोल क्रिस्टियन एरिक्सनले पेनाल्टीमा गरे । यस जितले डेनमार्कको ५ खेलमा १० अंक भएको छ । शीर्ष स्थानको बेल्जियमको १२ तथा इंग्ल्यान्डको ७ अंक छ । आइसल्यान्ड अंकविहिन रहेको छ ।

प्रकाशित:
2020/11/16, 8:10