क्यानको वार्षिक साधारण सभा सम्पन्न

can
सुदूर प्रेस संवाददाता

काठमाडौँ–नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा बुधबार भर्चुअल (अनलाइन) को माध्यमबाट सम्पन्न भएको छ । कोरोना महामारीको कारण साधारण सभा भर्चुअल माध्यमबाट गर्दै विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सभाको प्रमुख अथिति राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, सभापति क्यानका अध्यक्ष चतुबहादुर चन्द र आइसिसीका प्रतिनिधि अधिवक्ता राजेश्वर श्रेष्ठ थिए ।

उद्धघाटनको क्रममा राखेप सदस्य सचिव सिलवालले कोरोना महामारीको कारण क्रिकेटका धेरै ठूला प्रतियोगिता आयोजना गर्न नसकेको बताएका थिए । २०२१ मा जनजीवन सामान्य हुँदै क्रिकेटले पुनः फड्को मार्ने बताए । नेपालमा समूहको खेलमा सर्वाधिक रुचिको खेल पनि क्रिकेट भएको बताएका थिए । खेलाडीको प्रर्दशनसँगैे नेपाली समर्थकहरुको माया, साथ र सहयोग नेपाली क्रिकेट विकाशमा ठूलो योगदान पुर्याएको जनाएका थिए ।

सभामा बोल्दै अध्यक्ष चन्दले कोरोना महामारीको कारण एक वर्ष खेल हुन नसक्दा नेपालको ओडिआई मान्यता सन् २०२३ मार्च सम्म रहने बताएका थिए । मुख्य प्रशिक्षकको लागि १७ देशका कुल ७२ जनाले आवेदन दिएको जानकारी दिएका थिए । ए लिष्टका १४ जना मध्य १२ जनाको अन्तर्वार्ता भइसकेको र प्रशिक्षक छनोटको लागि छलफल जारी रहेको चन्दले सभामा जानकारी दिएका थिए ।

साधरण सभामा नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन गर्न वार्षिक साधरण सभाका प्रतिनिधिहरु एकमत रहेको जनाएका छन् । सभाले क्यानको स्वामित्वमा रहने गरि नेपाली क्रिकेट हित र अनुकुल रहने गरी केन्द्रिय कार्यसमितिलाई एनपिएल सम्झौता प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको छ ।

आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको संघको वार्षिक लेखापरिक्षण प्रतिवेदनलाई सभाले पारित गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखा परिक्षण लागि एबिएस एण्ड एसोसियट्सलाई जिम्मेवारी दिने निर्णय गरेको छ । वित्तीय वर्ष २०७७/०७८ को कार्यक्रम र बजेट निर्माण गर्न अघि बढ्न केन्द्रिय कार्य समितिलाई सभाले निर्देशन दिएको छ ।

पाँच वर्षे रणनैतिक योजना निर्माण गर्न र आइसिसीलाई पेश निर्देशन दिएको छ । जिल्ला र प्रादेशिक क्रिकेट संघहरुको संचालन कार्यविधि निर्माण गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित:
2020/11/18, 9:40