कोरोना सङ्क्रमणका बाबजुद सुदूरपश्चिममा खर्च र राजश्व सङ्कलन उत्साहजनक

jhapat
सुदूर प्रेस संवाददाता

धनगढी– कोरोना सङ्क्रमणले निम्तिएको समस्याका बाबजुद सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो चौमासिक अवधिमै वार्षिक लक्ष्यको ४५दशमलव ९३ प्रतिशत राजश्व आम्दानी भएको छ ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा कूल राजश्वको लक्ष्य  ६७ करोड ७०लाख ३०हजार राखेकोमा पहिलो चौमासिक अवधिमै ४५दशमलव ९३प्रतिशत अर्थात्  ३१करोड नौ लाख ६६हजार राजश्व आम्दानी भएको हो । 

 चालु वर्षको पहिलो चौमासिक अवधिमा सङ्कलन भएको राजश्व गत वर्षको पहिलो चौमासिक अवधिमा सङ्कलित राजश्वको तुलनामा १३दशमलव ८१प्रतिशतले बढी रहेको जनाइएको छ ।

  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर वोहराले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्षको समीक्षा अवधिसँग तुलना गर्दा प्रदेश सरकारको चालु तथा पुँजीगत खर्च र राजश्व सङ्कलन उत्साहजनक रहेको बताउनु भयो ।

  ‘कोभिड—१९सङ्क्रमणले निम्त्याएको समस्याका कारण यो रोगको रोकथाममा वित्तीय स्रोत लगाउनु परेको र सरकारका प्राथमिकताहरू परिवर्तन गर्नु परेको छ,मन्त्री बोहराले भन्नु भयो —यस्तो अवस्थाका बाबजुद पनि सरकारले राजश्वको दर वृद्धि नगरी दायरा बढाएको कारण लक्ष्य प्राप्ति गर्न सफलता मिलेको हो ।‘ 

   सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधि सम्मको खर्चलाई गत आर्थिक वर्षको सोही अवधिको खर्चसँग तुलना गर्दा खर्च रकमको आधारमा ६४दशमलव ४५ प्रतिशतले खर्च वृद्धि भएको उल्लेख गरिएको छ ।

 प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ को कूल बजेट  ३३ अर्व ३८ करोड १३ लाख ५८ हजार रहेकोमा कूल विनियोजित मध्ये चालु तर्फ एक अर्व १०करोड ४७ लाख ५०हजार खर्च भएको छ । 

 जुन विनियोजनको तुलनामा छ दशमलव ६५प्रतिशत हुन आउँछ । गत आर्थिक वर्षको सोही अवधिमा चालु तर्फ पाँच दशमलव चार प्रतिशत मात्रै खर्च भएको थियो । गत आर्थिक वर्ष भन्दा समीक्षा अवधिमा एक दशमलव २५प्रतिशत बढी खर्च भएको जनाइएको छ ।

 कुल विनियोजन मध्ये पुँजीगत तर्फ  ९९करोड ३८ लाख ७६ हजार खर्च भएको छ । यो विनियोजनको तुलनामा पाँच दशमलव ९३ प्रतिशत रहेको छ । 

 कूल विनियोजनको छ दशमलव २९ प्रतिशत अर्थात्  दुई अर्व  नौ करोड ८६ लाख २६ हजार कूल खर्च भएको विज्ञप्तिमा उल्लेख छ । 

 गत आर्थिक वर्ष२०७६÷०७७को सोही अवधिमा पुँजीगत तर्फ रु तीन दशमलव ५२प्रतिशत मात्र खर्च हुन सकेको थियो ।

 

प्रकाशित:
2020/11/25, 4:09