अभियुक्त फरार प्रकरणः डिउटीमा खटिएका ३ जना प्रहरी निलम्बनमा, पक्राउ गर्ने ४ जना पुरस्कृत

police
सुदूर प्रेस संवाददाता

डोटी–डोटीमा बालिकाको बलात्कारपछि हत्याका अभियुक्त भागेको प्रकरणमा डिउटीमा खटिएका प्रहरी हवलदार सहितका ३ जना प्रहरी निलम्बनमा परेका छन् भने पक्राउ गर्ने ४ जना प्रहरी पुरस्कृत भएका छन्।

अस्पतालमा डिउटीमा खटाइएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार धनसिंह सामन्त, प्रहरी जवान द्वय राजुकुमार बिक र नरेश धामीलाई निलम्बन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र मल्लको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको उनले बताए । 

यस्तै अभियुक्त अस्पतालबाट फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहितका ४ जना प्रहरी पुरस्कृत गरिएको सिंहले जानकारी दिए । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक कान्तिराज जोशी, प्रहरी सहायक निरीक्षक जगदीशप्रसाद भट्ट, प्रहरी जवान द्वय देवेन्द्र बहादुर सिंह र दिनेश सुनार छन् । 

 

बझाङकी १२ वर्षीया बालिकाको हत्या अभियोग लागेपछि पुर्पक्षका लागि कारागार चलान भएका मस्टा गाउँपालिकाका राजेन्द्र बोहरा जिल्ला अस्पताल डोटीबाट भागेको १० घण्टामै उनीहरूले पक्राउ गरेका थिए । 

 

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा गए राति भागेका थिए। 

 

प्रकाशित:
2020/12/04, 8:11