दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत

Accident
सुदूर प्रेस संवाददाता

दार्चुला–दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा ट्रक चालक बैतडी दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेर सिह कार्की, दोगडाकेदार गाउँपालिका–६ गौकुराका जेसिवी चालक २५ वर्षीय धनसिंह भण्डारी र दार्चुला शैल्यशिखर नगरपालिका–८ नगतडका १७ वर्षीय चन्द्रसिंह विष्ट रहेका दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिए। 

गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना३ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका–१ भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। गएराति १० बजे दुर्घटनामा परेको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ।

ट्रकमा सवार तीनै जनाको मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटना हुनुभन्दा ३/४ घण्टा पहिला ट्रकको इन्जिनमा समस्या आएकोले सोही कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

शव परीक्षणको काम भइरहेको परीक्षणपश्चात आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित:
2020/12/08, 8:24