धनगढीमा क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका सडकको काम सुरु

क्याम्पस गेट– चटकपुर सडकको शिलान्यास 
sadak
सुदूर प्रेस संवाददाता

धनगढी–बहुप्रतिक्षित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य बिहीबार बाट धनगढीमा सुरु भएको छ ।

परियोजनाको यो नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट– चटकपुर सडकको शिलान्यास गरेसँगै सडक निर्माणको काम अगाडी बढेको छ । धनगढीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने कार्यक्रमको रुपमा यो परियोजनालाई लिइएको छ । धनगढीका बाहिरी सडकहरू बिस्तार तथा कालोपत्रे बनाई सक्दा पनि क्षेत्रीय शहरी विकास परियोजनाको पर्खाईमा मुख्य बजार क्षेत्रका सडक बिस्तार गर्न सकिएको थिएन । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक बिस्तारकालागि २०१५ मा सम्झौता भएको थियो । सम्झौता भएको भएको लामो समय हुँदा पनि सडक निर्माणको काम अगाडी बढ्न सकेको थिएन , नगरप्रमुख वडले भने, ‘आज निकै खुसी छु सपनाको परियोजनाले काम सुरु गरेको छ ।’

सन् २०१५मा छुट्टाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्धरुपमा हुने नगरप्रमुख वडले बताए । पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ, नगरप्रमुख वडले भने, अव चाँडै दोस्रो चरणका सडक निर्माणका लागि टेन्डर हुदैछ । पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपैयाँको ठेक्का कालिका कन्स्ट्रक्सन पाएको छ । 

पहिलो चरणमा ठेक्का पाएको कालिका कन्स्ट्रक्सन ले ७ वटा सडक निर्माण गर्ने छ । जस अन्तरगत चरणमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड , ट्राफिक चौराहा देखि –कैलाली नाला ( १ हजार ३ सय ८० मिटर) , हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर) , क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी – खुटिया स्याउले रोड ( ८ सय ७० मिटर ) , मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेका छन् ।

क्षेत्रीय सहरी विकास आयोजना धनगढी विकासको सपना बोकेको आयोजना हो नगरप्रमुख वडले भने, त्यसैले नगरवासीको सपना पनि यस  आयोजना सँग जोडिएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत धनगढीमा सडकको शिलान्यास गरेपछि नगरप्रमुख वड निकै प्रफुल्लित मुद्रामा देखिन्थे । 

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरको विकासका लागि नगरवासीले हातेमालो गर्नुपर्ने बताईन । उनले भनिन्, ठुलो आयोजना हो कार्यान्वयनमा सबैले सहयोग गरौँ । उप–प्रमुख भट्टले क्षेत्रीय शहरी विकास आयोजनाले लैङ्गिक अवधारणालाई पनि आत्मसाथ गरेर काम गरिरहेको बताइन । क्षेत्रीय शहरी विकास आयोजना उप–व्यवस्थापक श्याम चन्द्र बुढाथोकीले समयमै काम निर्धारित समयमा नै काम सम्पन्न हुनेमा ढुक्क रहेको बताए । उनले भने, सुरुमा ठेक्का प्रक्रियामा केही समस्या भएर काममा केही ढिलाइ भएको हो , सबै काम समयमा सम्पन्न हुनेमा ढुक्क छौँ । धनगढी उप–महानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले सडक बिस्तारका लागि स्थानीयहरूले पनि सहयोग गर्न थालेको बताए । उनले भने, सडक क्षेत्राधिकार भित्र पर्ने संरचना भत्काउने घरधनीलाई सम्मान गर्ने, करमा छुट गर्ने, भत्काइएको घर नक्सामा छुट दिने, रंगरोगनमा सहयोग गर्ने जस्ता कार्यक्रमहरू ल्याएका छौँ । सडक शिलान्यास कार्यक्रमको अध्यक्षता धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दीपक कुमार थापाले गरेका थिए । 

 

प्रकाशित:
2020/12/10, 4:13