सुदूरपश्चिममा थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा संक्रमतिको संख्या २ लाख ५० हजार नाघ्यो
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बैतडी प्रयोगशाला र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७२ जनाको परीक्षण गर्दा थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९८ जनाको नमुना परीक्षण गर्दा ४४ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा १ सय ३४ जनाको नमुना परीक्षण गर्दा ४ जना, जिल्ला अस्पताल बैतडीमा १ सय २४ जनाको नमुना परीक्षण गर्दा ४ जना र डडेलधुरा अस्पताल प्रयोगशालामा १६ जनाको परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको छ । धनगढीका थप १६ जनामा सङ्क्रमण देखिएको छ ।

कैलालीकै ठेगाना नखुलेका ५ जना, लम्किचुहा नगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना, यस्तै गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका १र१ जनामा समेत सङ्क्रमण पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका ४र४ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५ सय ३ पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। २ हजार ३ सय ६४ जना सक्रिय सङ्क्रमित छन् ।  सङ्क्रमण पुष्टि भएका १० हजार ९३ जनाले कोरोना जितेका छन् भने ४६ जनाको मृत्यु भएको कार्कीले जानकारी दिए । 

नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ५० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमतिको संख्या साढे २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ७ हजार १ सय १७ पीसीआर परीक्षण भएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ९६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ ।

प्रकाशित:
2020/12/15, 6:32