टीकापुर घटना : पीडित भन्छन्- ‘ढिलै भए पनि न्याय मिल्यो’

tikapur kanda
सुदूर प्रेस संवाददाता

धनगढी–रेशम चौधरीलगायत टीकापुर घटनाका दोषीहरूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्यायको अनुभूति भएको बताएका छन् । राजनीतिक चलखेलका कारण जिल्ला अदालतको फैसला उल्टिने हो कि भन्ने आशंकामा रहे पनि बिहीबार उच्च अदालतको फैसलाले न्याय पाएको महसुस भएको उनीहरू बताउँछन् ।


‘ढिलै भए पनि न्याय पाइन्छ, सत्य कुरा जतिसुकै चलखेल गरे पनि सत्य नै हुन्छ,’ टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदाले भनिन्, ‘जिल्ला अदालतले फैसलामा कम सजाय तोकेकाहरूलाई पनि उच्च अदालतले बढी सजायको फैसला गर्दा हामीलाई न्याय नमर्ने महसुस भएको छ ।’ उनले लकडाउनको अवधिमा मुद्दा कमजोर पार्न विभिन्न खालका चलखेल भए पनि अदालतले त्यसलाई निस्तेज पारेको बताइन् ।

रेशम चौधरीसँगै जिल्ला अदालतबाट तीन वर्ष कैद तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि न्यायालयप्रतिको विश्वास बढेको शारदाको भनाइ छ । ‘त्यतिबेलाको घटना हामीले अझै बिर्सेका छैनौं,’ बोहराले भनिन्, ‘दोषीले कुनै पनि हालतमा सजाय पाउनुपर्छ, त्यही भएको छ ।’ जिल्ला अदालतको फैसलापछि राजनीतिक मुद्दा भन्दै दोषी उम्काउन भएको चलखेलप्रति उनले दुःख व्यक्त गरेकी छन् । ‘फेरि पनि राजनीतिक रूपमा दोषीलाई छाड्ने काम नहोस्,’ उनले भनिन्, ‘त्यो घटनाबाट प्रत्यक्ष रूपमा हामी पीडित भएका छौं, त्यसको पीडा अहिले पनि हामीले बिर्सेका छैनौं, हाम्रो लडाइँ जारी छ ।’

रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला
सोही घटनामा मृत्यु भएका प्रहरी निरीक्षक बलराम विष्टकी छोरी जानुले पनि उच्च अदालतको फैसलाले न्याय मिलेको बताइन् । ‘एक पटक अपराध गर्नेलाई माफी दिए पुनः ठूलो अपराध दोहोर्‍याउन सक्छ,’ उनले भनिन्, ‘दोषीलाई राजनीतिक वा अन्य कारणले छुट दिइनु हुँदैन ।’ टीकापुर घटना हुँदा सानै रहेकी जानुको बुबाका हत्याराले सजाय पाउनुपर्ने माग थियो । ‘अदालतले हाम्रो पीडामा मलम लगाएको छ,’ उनले भनिन्, ‘दोषी कुनै पनि हालतमा उम्कनु हुँदैन ।’

बिहीबार उच्च अदालत दिपायलका वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित आठ जनालाई जन्मकैद फैसला गरेको हो । यसअघि ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैद फैसला गरेकामा उच्चले तीमध्ये सात जनाको सजाय सदर गरेको छ । चार जनाको सजाय घटाएको छ ।

प्रकाशित:
2020/12/19, 8:07