चिसोले जनजीवन प्रभावित, तराईमा शीतलहरको सम्भावना

weather update
सुदूर प्रेस संवाददाता

धनगढी–चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । धनगढी लगायत आसपासका क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । 

अहिले तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । लगातार हुस्सु लागे पनि शीतलहर भने सुरु भइनसकेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । तराईका जिल्लाहरुमा तापक्रम घट्दो क्रममा रहेको र निरन्तर हुस्सु लागिरहे तत्काल शीतलहर हुने सम्भावना बढेको उहाँको भनाइ छ ।

हिजो तराईका जिल्लामध्ये सबैभन्दा कम बाराको सिमरामा तापक्रम ४.५ डिग्रीमा झरेको थियो । केही दिनयता तराईका जिल्लाहरुमा दिनभरजसो हुस्सु लाग्ने र दिउँसोपछि बिस्तारै हटेर जाने गरेको छ । सामान्यतया ४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लाग्नुलाई शीतलहर भएको बुझिन्छ । यस्तै काठमाण्डौ उपत्यकामा आज तापक्रम बढे पनि बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएको छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालमा अहिले उत्तर-पश्चिमी वायुको प्रभाव रहेका कारण प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बद्ली रहेको छ । बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । त्यस्तै, आज राति  कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित:
2020/12/20, 8:26