ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

kp oli
सुदूर प्रेस संवाददाता

काठमाडौँ–पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।


ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो।

नेकपाको अन्तरिम विधानको धारा ५६ ले अनुशासनको कारबाही गर्ने व्यवस्था छ । उक्त धाराको (क) मा १४ वटा विभिन्न काम गरे अनुशासनको कारबाही गर्न सकिने उल्लेख छ ।

पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, गोपनीयता भंग गरेको अवस्थामा अनुशासनको कारबाही गर्ने व्यवस्था छ ।

त्यसैगरी अन्तरिम विधानको धारा ५६ को (ख) मा अनुशासनात्मक कारबाही र कारबाहीको प्रक्रियाबारे उल्लेख छ ।

धारा ५६ (क) मा उल्लेखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित कमिटीले आलोचना गर्ने वा लिखित रूपमा आत्मालोचना गराउने वा चेतावनी दिने वा पद वा सदस्यताबाट निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्था छ । ठोस आधार भए एक तह घटुवा गर्न सक्ने व्यवस्था पनि विधानमा छ ।

बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई थप्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको संसद् विघटन विरुद्धको यसअघि संचालित संघर्षका कार्यक्रम र माघ ९ गतेको विरोध प्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ ।

यो समूहले सोमबार नै फेरि दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । यस्तै, पार्टीको प्रदेश, जिल्ला, जनवर्गीय संगठनलगायतमा रिक्त पदमा पदाधिकारीहरुको चयन र अन्य सांगठनिक एकीकरणका काम टुंगाउने जिम्मा सचिवालय दिने निर्णय गरेको छ । बैठकमा प्रदेश इन्चार्जहरुले सम्बन्धित प्रदेश र विभिन्न जनवर्गीय संगठनसम्बन्धी रिपोर्टिङ गरेका थिए ।

प्रकाशित:
2021/01/24, 8:36