बझाङ हत्या प्रकरणमा पक्राउ परेका चारै जनाको संलग्‍नता पुष्टि

pakrau
सुदूर प्रेस संवाददाता

बझाङ — बझाङको छबिसपाथीभेरा गाउँपालिकाका अमृतबहादुर सिंहको हत्या घटनामा पक्राउ परेका वडाध्यक्षसहित चारै जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार हत्याका आरोपित छबिसपाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, वडा नं. २ कै बासिन्दासमेत रहेका गाउँपालिकाका रोजगार अधिकृत प्रकाश अयडी, केदार अयडी र ज्ञानबहादुर कठायतलाई सार्वजनिक गरेको हो ।


मंगलबार दिउँसो सम्पन्न बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समिति निर्वाचनका बेला भएको विवादको विषयलाई लिएर साँझ २५ वर्षीय सिंहको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा कुन व्यक्तिको कस्तो संलग्नता थियो भन्ने खुलाइएको छैन । ‘प्रारम्भिक अनुसन्धानबाट चारै जना हत्यामा संलग्न रहेको पाइएको छ,’ जिल्लाका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले भने, ‘कसको कस्तो भूमिका थियो भन्ने हामी बुझ्दै छौं । विस्तृत अनुसन्धानपछि सबै थाहा हुन्छ ।’ अनुसन्धानका लागि अदालतबाट १० दिनका लागि म्याद थप गरिएको उनले बताए ।

गाउँको एक पसलनजिक खुँडा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका सिंहको केहीबेरमै मृत्यु भएको थियो । घटनामा संलग्नहरूलाई सार्वजनिक गरिएपछि मृतकको दाहसंस्कार पनि गरिएको छ । शवलाई सदरमुकाम चैनपुर बजार परिक्रमा गराइएको थियो । दाहसंस्कार कार्यक्रममा श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिति थियो । सिंह नेपाल तरुण दल छबिसपाथीभेरा गाउँपालिकाका सदस्यसमेत थिए ।

प्रकाशित:
2021/01/29, 9:10