धनगढीमा भएको सभामा प्रचण्ड,नेपाल र रावलले के भने

सुदूर प्रेस संवाददाता

धनगढी–आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी दाहल–नेपाल समूह (नेकपा) ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन र जनसभा गरेको छ। नेकपाको सुदूर पश्चिम प्रदेश कमिटीको आयोजनामा शक्ति प्रदर्शन र सभा गरिएको हो । सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल,भीम रावल लगायतले सम्बोधन गरे । सभामा सहभागीताका लागी सुदूरपश्चिमका नौ वटै जिल्लाबाट ठुलो सङ्ख्यामा कार्यकर्ता हरूलाई धनगढीमा उतारिएको थियो । कार्यक्रम स्थल धनगढीको खुलामञ्च कार्यकर्ताले भरिभराउ थियो । 

सुदूर पश्चिमको धनगढीमा पुगेर नेकपाका नेता माधवकुमार नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन्। धनगढी खुलामञ्चमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'केपी ओली युगको अन्त्य हुँदैछ। उनी अस्ताउँदा सूर्य हुन्। हामी उदाउँदो सूर्य हौं। नेपाल कम्युनिस्ट पार्टी चम्किएर आउँदैछ।' 

धनगढीको सभामा उपस्थितको संख्या उल्लेख्य देखेपछि नेताहरु उत्साही सुनिएका थिए। 

'केपी ओलीसँग १ सय जना पनि केन्द्रीय सदस्य छैनन्। त्यो डुप्लिकेट पार्टी हो। त्यहाँ भविष्य छैन,' नेता नेपालले भने, 'सूर्य चिन्ह त्यही हुन्छ जहाँ ३ सय केन्द्रीय सदस्य हुन्छन्। ओलीले चुनाव गराउनलान् र लोकतन्त्र जोगाउलान् भन्ने भ्रममा नपरे हुन्छ। यदि तपाई लोकतन्त्रप्रति निष्ठावान हुनुहुन्छ भने ओलीबाट आशा नगर्नुस्।'

ओलीले कम्युनिस्ट निमिट्यान्न पार्न लागि परेका आरोप लगाउँदै नेता नेपालले प्रश्न गरे- 'केपी ओली ओरिजिनल एमाले हो कि माधव नेपाल र झलनाथ खनाल? पार्टीमा सधैं समस्यामात्र खडा गर्ने कसरी ओरिजिनल? 

ओलीलाई गफाडी नम्बर १ भएको आरोप लगाउँदै नेता नेपालले भने, 'उनी झुक्याउन अत्यन्तै सिपालु हुन्। मानिस एक चोटी दुई चोटी झुकिन्छ, सधै झुकिन्न। केही मानिसालई सधैंका लागि मुर्ख बनाउन सकिएला सबैलाई लामो समय सकिन्न।'

जनतासँग जोडिएका सरोकारका विषय उठाउँदा ओली कहिल्यै सुन्न तयार नभएको आरोप पनि नेता नेपालले लगाए। 'हामीले प्रश्न उठाउँथ्यौं - ओली सुन्न तयार हुँदैनन्। भ्रष्टाचार भयो भनेर प्रश्न उठायौं सुन्न चाहेनन्। कोरोनाले समस्या भयो भन्यौं, सुन्न चाहेनन्,' नेता नेपालले भने।
लकडाउनमा सुदूर पश्चिममा अलपत्र परेका नेपाललीलाई मुलुक भित्रन नदिएको प्रसंग उठाउँदै नेता नेपालले ओलीको कडा आलोचना गरे।

'महाकाली पारी नेपाली अलपत्र परे भन्दा आउन दिन्नन्। महाकाली तरेर आउनेलाई मान होइन, अपमान हुन्छ। नेपालीको लाम लागेको छ सीमामा। तिनलाई आउन दिँदैनन्। त्यतिकै बिजोगमा अपमानका साथ नेपाली बस्न परेको थियो। यी सबै केपी ओली नेतृत्वको सरकारले गर्‍यो,' उनले भने।

ओलीमा सुन्ने क्षमता नै नभएको आरोप नेपालको थियो। 'हामीले कोरोनाको विषयमा कुरा गरौं, जनताको विषयमा कुरा गरौं भन्दा बैठक बस्न चाहेनन्,' नेपालले भने, 'त्यसमा असहमति जनयौं, सुन्न चाहेनन्। अनि भन्दै हिँडे - काम गर्न दिँदैनन्।'  

पार्टीमा जनताका कुरा उठाउँदा पार्टी फुटाउन खोजेको आरोप पनि उनले लगाए। संसदमा कुरा उठाउन खोज्दा संसद नै भंग गरिदिएको नेपालको आरोप थियो। भने, 'केपी  ‌ओली विगार्नेमात्र मान्छे हुन्। 

कहिल्यै सकारात्मक भएनन् ओली। उनलाई खाली प्रशंसा चाहिने। अरुको मानमर्दनमात्र गर्न चाहने।' 

उनले केपी ओलीको पतन निश्चित भएको बताउँदै उनका फुर्ती हावामा उडेको सुनाए। निर्वाचन आयोगले केपी ओलीले विस्तार गरेको केन्द्रीय सदस्यलाई नकारेको प्रसंग उठाउँदै उनले म्यादी प्रहरीको संज्ञा दिए। 'निर्वाचन आयोगले एउटा निर्णय सुनाएपछि  - म्यादी प्रहरी जस्ता रहेछन् केन्द्रीय सदस्यहरु। विचराहरुको टाय टाय फिस भएको छ। बिजोग। अहिले त लाज लाग्दो होला - म केपी ओली गुटको केन्द्रीय सदस्य  छु भन्दा।' 

कञ्चनपुरमा भउको निर्माला पन्तको बलात्कार र हत्याको विषयलाई पनि उनले धनगढीमा जोडका साथ उठाए। 'हामीले पार्टीमा कुरा उठायौं। बलात्कारमा सहभागीलाई दण्डित गर भन्यौं। केपी ओली नेतृत्वको सरकारले कुरा सुन्न चाहेन,' नेता नेपालले भने, 'केपी ओली सरकारको पहिलो गाँसमा नै ढुंगा पस्यो र झिंगा पस्यो। आजसम्म पनि निर्मलालाई न्याय दिन सकेन यो सरकारले। यो मानिसले कामको जिम्मेवारी पूरा गर्न सक्दैन, भ्रष्टाचार ढाकछोप गर्छ। सुशासनलाई अवलम्बन गर्न सक्दैन। जनतालाई राहत दिन सक्दैन त्यस्तो सरकारलाई हामीले कसरी बोकिरहन सक्नु?'

May be an image of one or more people, people standing, crowd and outdoors

धनगढीको सभामा मानिस देखेर प्रचण्ड मख्ख

आन्दोलनमा उत्रिएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूहको सभामा मानिसको उपस्थिति देखेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगर र बुटवलको सभाभन्दा पनि ठूलो भएको बताएका छन्।

'सुदूर पश्चिम झुक्दै झुक्दैन भन्ने संदेश जनताको यो उपस्थितिले दिएको छ,' प्रचण्डले धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भने, 'केपी ओलीको केन्द्रीय कमिटीमा एक तिहाइ छैन, स्थायी कमिटीमा एक तिहाइ छैन। तपाईले आज सडकमा पनि एक तिहाईभन्दा कम हो भनेर देखाइदिनुभयो।'

सुदूर पश्चिमका जनताले केपी ओलीलाई बाउन्ने हो भन्ने संदेश दिएको पनि बताए। 'तपाईँहरुको यो उपस्थितिले ओलीलाई फुच्चे, बाउन्ने बनाइदिनुभएको छ,' प्रचण्डले भने। 

मुलुकमा गणतन्त्र, संघीयता ल्याएपछि जनताले खोजेको स्थिरता दिन पार्टी एकता गरेको बताउँदै ओलीले त्यसमाथि प्रहार गरेको आरोप लगाए।

'आफूले आफैँलाई खलनायक स्थापित गर्नुभएको छ केपी ओलीले,' उनले भने, 'यसो भनिरहँदा मलाई दु:ख लागिरहेको छ।' आफूहरु धनगढीमा कमेडी सो गर्न र उखान टुक्का हाल्न नआएको भन्दै प्रचण्डले मुलुकको स्थिरता जोगाउन आएको बताए। 

May be an image of 8 people, people sitting, people standing, outdoors and crowd

भीम रावलले भने–भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूर पश्चिममा आयोजित सभामा बोल्दै नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्।

सत्तरी करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार। भ्रष्टाचार गर्नेलाई उहाँले संरक्षण गर्नुभयो। यी सबै भ्रष्टाचारको अगुवा केपी ओली नै हो,' रावलले भने, 'सत्तरी करोडको भ्रष्टाचारको कुरा आएपछि उहाँले भन्नुभयो सबै नेता एकातिर सत्तरी करोडवाला एकातिर। किनकि ७० करोड गरुङ्गो थियो।'

प्रधानमन्त्री ओलीले विस्तार गरेको १५ सय १ जनाको केन्द्रीय कमिटीलाई निर्वाचन आयोगले अस्वीकार गरेको बताउँदै रावलले केन्द्रीय कमिटीलाई सडकछाप बनाएको दावी गरे। उनले ओलीले नेकपा विसर्जनको बाटोमा हिँडेको दावी गरे। 'केपी ‌ओलीले नेकपालाई विसर्जन गर्नका लागि देशका लागि विश्वासघात गर्नुभयो,' रावलले भने।

नेता रावलले प्रधानमन्त्री ओलीले विदेशीका लागि नागरिकता दिलाउन खोज्दा आफूहरुले रोकेको दावी गरे। संयुक्त सैनिक अभ्यास गराउन खोज्दा रोकेको पनि सुनाए। त्यसैलाई लिएर असहयोग गरेको ओलीले आरोप लगाउँदै आएको दावी गरे।

'अहिले विदेशी कम्पनी हुलेर नेपाली किसानविरुद्ध षड्यन्त्र गर्नुभएको छ। उहाँले गणतन्त्रमाथि प्रहार गर्नुभयो। अब किसान जनतालाई पेशाबिहीन बनाउँदै हुनुहुन्छ,' रावलले भने। 

ओलीलाई भगुवा भन्दै कटू आलोचनामा उत्रिएका रावलले पार्टी बैठकदेखि प्रतिनिधिसभाबाट समेत भागेको आक्षेप लगाए। 

'मदन भण्डारी फाउन्डेसनमा पुगेर - भारतसँग मिलेर आफ्नै पार्टीका नेताले हटाउन खोजेका भन्नुभयो।हामीले स्थायी समिति बैठकमा प्रश्न गर्‍यौं - भन्नुस् कसले हटाउन खोज्यो? त्यसलाई कारवाही गर्छौं। त्यसपछि उहाँ भागेको भाग्यै गर्नुभयो,' रावलले भने, 'झापाबाट भागेर मोरङ, त्यहाँबाट भागेर बिहार पुग्नुभयो। त्यहाँबाट पनि भाग्नुभयो। त्यहाँबाट भागेर नैनतालमा उखु गोडेर बस्नुभयो। हुँदाहुँदा संसदबाटै भाग्नुभयो। 
जेलनेल भोगे पनि भागेर उखु गोड्न कतै नगएको उनले बताए।

'यस्तो भागिरहेनेलाई एक नम्बरको भगुवा भनिन्छ। हामीले जेल नेल भोग्यौ तर नैनतलामा उखु गोड्न गएनौं,' उनले भने। 

May be an image of 7 people, people standing, people sitting and outdoors

 

 

प्रकाशित:
2021/01/30, 7:01