भागरथी बलात्कार हत्या प्रकरणको अनुसन्धान के भइरहेको छ ?

सुदूर प्रेस संवाददाता

बैतडी–बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार-हत्याको अनुसन्धान तेस्रो चरणमा पुगेको प्रहरीले जनाएको छ।

भागरथी बलात्कार-हत्यापछि प्रहरीले दायरा फराकिलो बनाएर अनुसन्धान सुरू गरेको थियो। यो चरणको अनुसन्धान सकिएपछि प्रहरीले दोस्रो चरणमा सूचनाको पुष्ट्याइँ सकेको छ।

अहिले तेस्रो चरणमा व्यक्तिलक्षित अनुसन्धान भइरहेको छ। यो अनुसन्धान धेरै लामो नजाने सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ।

‘अहिले व्यक्तिलक्षित अनुसन्धान भइरहेको छ, प्राविधिक रूपमा अनुसन्धान भइरहेको छ, भागरथीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको कल रेकर्ड डिटेल (सिडिआर) निकाल्ने काम भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले सेतोपाटीसँग भने।


भागरथीसँग थुप्रै व्यक्ति सम्पर्कमा जोडिएका छन्। ती व्यक्तिहरूमध्ये केही प्रहरीको ‘क्लोज सर्भिलेन्स’मा छन्। तिनै व्यक्तिहरूमध्ये कसैले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरीको बुझाइ छ।

भागरथीसँग रहेका तीन वटा सिमकार्डहरूबाट भएका फोन र त्यसमा सम्पर्कमा आएका व्यक्तिहरू प्रहरीको निगरानीमा छन्।

‘भागरथी फोन साथै म्यासेन्जरमा बढी कुरा गर्थिन्, आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरूबारे उनी साथीभाइलाई सुनाउँदिनथिन्,’ ती अधिकृतले भने, ‘उनी एकदमै समयमा स्कुल जाने, फर्किने गर्थिन्।’

भागरथीको पारिवारिक अवस्था कमजोर रहेका कारण हत्यामा आर्थिक कारण नभएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह बताउँछन्। त्यसकारण उनको हत्यामा अन्य कारण नै प्रमुख छन्, ती अहिले प्रहरीले सार्वजनिक गरेको छैन।


त्यसदिन साथीहरूबाट छुट्टिएपछि भागरथी एक्लै जंगलबाट बाटो हुँदै घर आएको अनुसन्धानले देखाएको छ। फर्किने क्रममा कोही व्यक्ति उनको पछि लागेको र उसले बलात्कार गरेको प्रहरी अनुसन्धान छ।

बलात्कारपछि घटना सार्वजनिक हुने डरले तुरुन्तै घाँटी थिचेर हत्या गरेको देखिएको छ। तर, पीडितले प्रतिकार गर्न सकेको घटनास्थल मुचुल्काबाट देखिँदैन।

यसकारण प्रहरीले घटनामा अन्य केही व्यक्तिले सहयोगीको भूमिकामात्र खेलेका थिए भन्ने शंका गरिरहेको छ।    

भागरथीको हत्या भएपछि भेटिएका भौतिक प्रमाणहरू विधिविज्ञानबाट प्रयोगशालामा छन्।

‘शंकास्पदहरूको गतिविधि भेरिफाइ गर्ने, सोधपुछ, स्क्रिनिङ गर्ने काम भइरहेको छ,’ एसएसपी सिंहले भने, ‘केही मानिस निगरानीमा छन्।’

उनको हत्यामा एक वा धेरै व्यक्ति संलग्न छन् भन्ने प्रहरी अझै अन्योलमै छ। कसैले सहयोगीको रूपमा भूमिका निर्वाह गरेको हुनसक्ने प्रहरीको बुझाइ छ।  

भागरथीको बलात्कार हत्यामा उनीसँग नजिक र परिचित मानिसकै संलग्नता रहेको सिंह बताउँछन्।

‘अनुसनधान अहिलेसम्म गलत ट्रयाकमा गएको छैन। अन्योल छैन। तथ्यले जोड्दै गइरहेको छ,’ सिंहले भने, ‘सूचना, शंकास्पद व्यक्तिहरू र हालसम्मको अनुसन्धान पुनर्पुष्टि गर्न बाँकी छ।’  

भागरथी हत्याबारे बैतडी प्रहरी, सुदूरपश्चिम प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एकीकृत रूपमा अनुसन्धान गरिरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी आफैं घटनास्थलमा छन्।

उनी आफैं परिवार, स्थानीय, शंकास्पद व्यक्तिको निगरानी, स्थानीय तहका पदाधिकारीहरूसँग कुराकानी गरिरहेका छन्।

‘परिवार, गाउँ समाज अनुसन्धानमा एकदमै सहयोग भइरहेको छ, अब धेरै लामो समय जाँदैन,’ सुवेदी भन्छन्, ‘तेस्रो चरणको अनुसन्धान सकिनासाथ दोषीसहित परिणाम सार्वजनिक गर्ने तयारी छ।’

भागरथीको हत्या भएको १० दिन भइसकेको छ। उनको शव जिल्ला अस्पताल बैतडीमा छ। आफन्तले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका कारण प्रहरीलाई दबाब छ।

भागरथीका  बुवाको डेढ महिनाअघि मृत्यु भएको थियो।

दुई दिदी बिहे भएर आफ्नो घर गइसकेका छन्। उनका दाजु भारतमा रोजगारी गर्थे। त्यसकारण, भागरथी एक्ली आमाका साथ थिइन्।

हत्या हुनुअघि बुधबार दिउँसो २ बजेसम्म आफू पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा साथीहरूसँगको सम्पर्कमै थिइन्।

२ बजेअगावै स्कुल छुट्टी भइसकेको थियो। स्कुल छुट्टी भएपछि भागरथी खोचलेक बजार पुगेकी थिइन्। त्यहाँ पुगेपछि उनले आफ्नी एक साथीलाई फोन गरेर सँगै जान अनुरोध गरेकी थिइन्।

तर, साथीले भनिन्, ‘मेरो कपाल काट्नु छ समय लाग्छ।’

बजारमा उनीसँग साथी भए पनि घर जाने बाटो अलग भएकोले उनी त्यही बजारबाट छुट्टिएकी थिइन्।

प्रकाशित:
2021/02/13, 9:12