भागरथीको बलात्कार तथा हत्याका अभियुक्त सार्बजनिक, ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति

hatyra
सुदूर प्रेस संवाददाता

बैतडी — भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।


बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । 'अभियुक्तले आफूले हत्या गरेको बयान स्वीकारिसकेका छन्,' डीआईजी सुवेदीले भने,' घाँटी थिचेर मारेको बयान दिएपनि हत्या गर्नुको कारण उनले भनेनका छैनन् । उनलाई आजै अदालतमा उपस्थित गराएका छौं । अदालतले ५ दिन म्याद थप गरेको छ ।'

आरोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो ।

प्रकाशित:
2021/02/17, 4:41