हत्या भएको १७ औं दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

Bhagrathi
सुदूर प्रेस संवाददाता

बैतडी–बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज  दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७  औं दिनमा दाहसंस्कार गरिन लागिएको हो।  

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएका थिए। प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै प्रहरीले सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म  भागरथीको हत्या मात्रै गरिएको बताएका थिए। तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो।  त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्‍न मानेका थिएनन्।  

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामू गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। बलात्कार र हत्या आफैंले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेका हुन्। 

जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।  गोठलापानीबाट बिहान ११ बजे शवयात्रा सुरु हुने भागरथीका काका शिवराज भट्टले बताए। 

गोठलापानीबाट सेरासम्म शवयात्रा  हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो।   गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथी साँझ घरनफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्।

प्रकाशित:
2021/02/19, 10:24