भागरथीको परिवारलाई गाउँपालिकाले दियो ५ लाख रुपैयाँ राहत

Bhagrathi
सुदूर प्रेस संवाददाता

बैतडी–दोगडाकेदार गाउँपालिका-७, चडेपानीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

पीडित परिवारलाई ५ लाख रुपैयाँ राहत दिन गाउँ कार्यपालिका बैठकले निर्णय गरिसकेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। यसका साथै नेपाल सरकारलाई पनि पीडित परिवारलाई राहत उपलब्ध गराइदिन गाउँपालिकाले अनुरोध गरेको छ। 

गत माघ २१ गते भागरथीको स्थानीय लबलेक जंगलमा बलात्कारपछि हत्या भएको थियो।

गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न व्यक्ति पत्ता लगाउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारवाही माग गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई ५ लाख राहत प्रदान गर्ने निर्णय लिएको छ। साथै, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट पनि २ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो। यसका साथै नेपाली कांग्रेस बाजुराले पनि ३० हजार रुपैयाँ नगद सहयोग गरेको थियो।

यसैबीच घटनाका संलग्न रहेको आरोपमा प्रहरीले दोगडाकेदार गाउँपालिका-७ चडेपानीकै दिनेश भट्टलाई पक्राउ गरिसकेको छ। गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि जिल्ला अदालत बैतडीबाट शुक्रबारसम्मका लागि म्याद थपेर प्रहरीले अनुसन्धान जारी राखेको छ।

दिनेशले यसअघि आफैँले बलात्कारपछि हत्या गरेको प्रहरी र सरकारी वकिल समक्ष स्वीकार गरिसकेको छ।

प्रकाशित:
2021/02/24, 7:57