लिटल फ्लावर प्रिमियर लिगः सेमिफाइनल समीकरण पूरा

lpl
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा जारी विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा सेमिफाइनल समीकरण पूरा भएको छ । बुधवार भएको खेलमा होलिल्याण्ड स्कुललाई पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वतीले अन्तिम चारमा स्थान पक्का बनाएपछि सेमिफाइनल समीकरण पूरा भएको हो । बुधवार भएको लिग चरणको अन्तिम खेलमा शारदा सरस्वतीले होलिल्याण्ड स्कुललाई २२ रनले पराजित ग¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदा सरस्वतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । उसका लागि गणेश बहादुर बिटालुले अविजित रहँदै ५८ रन बनाए । होलिल्याण्डका राहुल भण्डारीले ३ विकेट लिए । १ सय ४९ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होलिल्याण्डले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २६ रन मात्रै बनाउन सक्यो । उसका लागि मनोज ओझाले ४५ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । शारदा सरस्वतीको जितमा नीरज चन्दले ३ र विकास सुनारले २ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका गणेश बहादुर बिटालु भए । 

यसअघि नै धनगढीको लिटल फ्लावर, बौनियाको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । २८ गते हुने पहिलो सेमिफाइनलमा शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस भिड्नेछन् भने दोस्रो सेमिफाइनलको खेल लिटल फ्लावर र बाल बाटिकाबिच हुनेछ । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भइरहेको पाँचौँ संस्करणको प्रतियोगिताको फाइनल २९ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

 

प्रकाशित:
2021/03/11, 7:38