गुटगत भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दल बैठकको निर्णय

काठमाडौँ — बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । सांसद बस्नेतले कान्तिपुरसँगको कुराकानीमा भने, ‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय भएको छ ।’

बैठकमा प्रधानमन्त्री एव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र जनवादको अभ्यासका निहुँमा अराजकता बढेको बताएका थिए ।‘हामीले लोकतान्त्रिक अभ्यासमा छौं । यो अलि बढी हुँदा आराजकतन्त्र भएको छ । पार्टीभित्र जनवादको अभ्यास गर्दा प्रत्यक्ष निर्वाचनको प्रणालीलाई आत्मसाथ गरियो । त्यो आधारमा वर्षौं वर्ष गुटबन्दी गर्ने र पार्टी पद्धति नमान्ने धेरै भएको छ । पार्टीभित्र अब त्यो चल्दैन । यस्ता प्रणाली रोक्नु पर्छ,’ ओलीको भनाई उद्धृत गर्दै सांसद महेश बस्नेतले भने, ‘जसले जानेर वा नजानेर यस्ता गतिविधि गर्नु भएको छ, पहिला उहाँहरुलाई सचेत गराउने र यस्ता गतिविधि नगर्न आह्वान गराउने । अटेर गरे स्पष्टीकरण माग्ने । त्यसो गर्दा पनि मान्दैनन् भने विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्छ ।’


सांसद बस्नेतले एमाले संसदीय दलको बोर्ड गठन भएको पनि बताएका छन् । बोर्डमा २७ जना सदस्य रहने पनि उनले बताए । त्यस्तै एमाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने भएको छ ।

बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । खनाल–नेपाल समूहले भने बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ ।

प्रकाशित:
2021/03/18, 3:45