जनतासँग निकट रहने र सुखदु:खमा साथ दिने नेता

nabindra
सुदूर प्रेस संवाददाता

२०४४ सालको कुरा हो। प्रतिबन्धित नेपाली कांग्रेसको सबभन्दा बलियो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन आह्वान गरिएको थियो। नवीन्द्रराज जोशी सभापतिको उम्मेदवार बन्ने तयारीमा थिए।


तत्कालीन पञ्चायती प्रशासनले अमृत साइन्स क्याम्पस (अस्कल) को महाधिवेशनस्थलमा हस्तक्षेप गर्‍यो। 

अस्कलको कार्यक्रम भाँडिएपछि कीर्तिपुरमा बन्दसत्र आह्वान गरियो। त्यहाँ पनि प्रशासनले हस्तक्षेप गरेपछि नेविसंघको निर्वाचन हुन सकेन। 

त्यसपछि गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेविसंघको कार्यसमिति घोषणा गरियो। तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले नेविसंघ कार्यसमिति घोषणा गरेका थिए।


समिति घोषणा हुँदा जोशी महामन्त्री छानिए। उनले दाबी गर्न खोजेको सभापति पदमा बालकृष्ण खाँड चयन भए।

२०४६ सालको जनआन्दोलनपछि दलहरू खुला राजनीतिमा आए। नेविसंघका तत्कालीन महामन्त्री जोशीले २०४८ सालको महाधिवेशनमा एनपी साउदसँग चुनाव लडे। साउदले नेविसंघ सभापति जिते। 

त्यसपछि जोशी २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्न खोजे। तर, उनलाई टिकट दिइएन। उनले उपमेयरमै चित्त बुझाए। 

उनी २०६४ र २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भए।

ncell in
पञ्चायतविरूद्ध राजनीतिक आन्दोलनमा लागेर पटक-पटक पक्राउ परेका जोशीलाई जनतासँग नजिक रहने र सुख-दुःखमा साथ दिने नेताका रूपमा चिनिन्छ। त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका उनी कुशल संगठनकर्ता र वक्ताका रूपमा समेत परिचित छन्।

उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए। संविधान जारी भएपछि २०७३ सालमा उद्योगमन्त्री पनि भए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा उनलाई ‘पञ्चायतको हजार डन्डाले नगल्ने’ नेताका रूपमा लिन्छन्। भन्छन्, ‘पञ्चायतले लाखौं-करौडौं अफर गर्दा पनि बिक्नुभएन। विचारले दृढ र कुशल नेतृत्व गर्ने क्षमताका धनी हुनुहुन्थ्यो।' 

उनको जीवनको संघर्षबारे पनि शर्माले व्याख्या गरे। 

‘पछिल्लो चुनावमा हारे पनि उहाँले कोरोनाको महामारीमा कर्तव्य निर्वाह गर्नुभयो। मानवताको भावना भएको व्यक्ति हो उहाँ,’ शर्माले भने। 

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापा राजनीतिक नैतिकतामा अडिक एकदमै कम नेताका रूपमा जोशीलाई चिन्छन्। 

‘राजनीतिक नैतिकताको कसीमा उहाँलाई कसैसँग तुलना गर्न मिल्दैन। उहाँ असाध्यै मिहिनेती र स्वार्थविहीन राजनीति गर्ने व्यक्ति हो,’ थापाले भने, ‘राजनीतिमा कुनै पक्षधरता लिनुभयो होला, तर आफूले लिएको पक्षधरताले फाइदा देला भन्ने पक्षमा हुनुहुन्नथ्यो। आफूले गरेको राजनीतिले जनतालाई फाइदा होस् भन्ने चाहनुहुन्थ्यो।’ 

थापाको बुझाइमा जोशी सक्रिय र शालिन नेता थिए। साथसाथै ज्ञानका भोका पनि। ‘अहिले नेपालको राजनीतिमा अपरिहार्य नेता हो,’ थापाले भने, ‘हामीले राजनीतिमा एक कुशल नेता गुमाएका छौं।’ 

कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि जोशी निष्ठा र इमानको पहिचान बोकेको नेता रहेको बताए। ‘उहाँ अत्यन्तै निष्ठावान, इमानदार र इमानदारिताले नै उन्नति हुने मान्यता भएको व्यक्ति हो,’ पौडेल भन्छन्। 

उनै कांग्रेस नेता जोशीको शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको छ। उनी २०२० सालमा जन्मेका थिए। 

जोशी गत फागुन १४ मा मस्तिष्कघात भएर नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका थिए। एक महिना लामो उपचारमा जोशीले स्वास्थ्यलाभ लिन सकेका थिएनन्।

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने भएको छ। शनिबार बिहान १२ बजेदेखि दिउँसो २ बजेसम्म जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको कांग्रेस प्रवक्ता शर्माले बताए। 

त्यस्तै, कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकसमेत डाकेको छ । कांग्रेसले नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शनिबारका लागि बैठक डाकेको हो। बैठक बिहान साढे ११:३० बजे बस्ने प्रवक्ता शर्माले जानकारी दिए।

प्रकाशित:
2021/03/27, 6:38