समर्पण मेरी उनीलाई

ved joshi
-वेद जोशी

हर बिहानी सँगै उषा-लाली छाँउछ,
आफ्नो मोहनी रंगले संसारलाई नै पोतिदिन्छ !
तर, ममा पोतिएको तिम्रो प्रेमको लाली सामु,
मलाई त्यो लाली समेत फिका-फिका लाग्छ !

बिहानीलाई छिचोल्दै उज्यालो प्रकाश छरिन्छ,
तर तिमीले मेरो जिवनमा छरेको प्रकाश सामु,
तेजिलो प्रकाश पनि मधुरो-मधुरो लाग्छ !

त्यो तेज एकाएक गोधुँलीको मधुर रंगले रंगिन्छ,
तर तिम्रो आगमनसँगै पाएको मिठो माधुर्यता सामु,
गोधुँलीको रंग पनि सादा-सादा लाग्छ !

गोधुँली पछिको अँध्यारोलाई चिर्दै जुनले चिहाउँछ,
तर तिम्रो एक मुस्कानले मेरो अन्धकारलाई चिर्दै दिएको शितलता सामु,
त्यो जुनको जुनेली रंग नै उडे-उडे जस्तो लाग्छ !

चम्किला ताराहरुले जुनसँग मायाको साउती गर्छन,
तर तिम्रो प्रेमिल स्पर्शको रसिलो मिठास सामु,
त्यो मिठो साउती पनि निरस-निरस लाग्छ !

ति उषा-लाली र घाम-जुनको उज्यालोमा समेत ग्रहण लागिदिन्छ,
तर तिम्रो प्रेमको रंगले रंगिएको मेरो जिवनमा,
मात्र खुशीयालि अनि माया नै माया छाइरहन्छ,
बेहिसाब......निरन्तर..... अनन्त.... सधैं भरीलाई.....!!

प्रकाशित:
2021/04/16, 6:53